पोखरा : बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको टोली बिहीबार मनाङमै बस्ने भएको छ । बिहीबार नेपाली सेनाको हेलिकप्टरमा मनाङ पुग्नुभएका मुख्यमन्त्री नेपाली सहितको टोली मौसममा आएको खराबीका कारण पोखरा फर्कन नसकेको हो ।
“हाम्रो टोली आज मनाङ सदरमुकाम चामेमै बस्नुपर्ने भएको छ । मौसमको खराबी भए पनि हामी सुरक्षित रुपमा बसेका छौं । मौसम सफा हुने बित्तिकै हामी भोलि फर्कने छौं,” मुख्यमन्त्री नेपालीले भन्नुभयो ।
उद्धार र राहतका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै मौसमका कारण उद्धारमा समस्या भइरहेको उल्लेख गर्नुभयो । उद्धार मात्र नभई राहत र बसोबासको ब्यवस्था प्रदेश सरकारले मिलाउने उहॉले बताउनुभयो ।
सरकारले शुक्रबार विश्वासको मत लिने कार्यसूची छ । “जहाँसम्म विश्वासको मतको कुरा छ । मौसम सफा भएमा बिहानै हामी पोखरा आउँछौं । सदन चल्छ र कारवाही अगाडि बढ्छ,” उहॉले भन्नुभयो, “अवस्था अनुकुल भएन र समयमै आउन सकिएन भने संसद सचिवालयले अर्को दिनको कार्यसूची बनाउँछ ।”