दुलेगौँडा : मनसुन सक्रिय भएसंगै परेको अविरल बर्षाका कारण पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–हरिनास गाउँपालिकाको केन्द्र सडकखण्ड अबरुद्ध बनेको छ । मंगलबारदेखि सडक अवरुद्ध भएको हो ।
दर्जनौँ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताउनुभयो । ‘कतै ग्याबिन झाली सहित बाटो खसेको छ । कही बाटो माथिबाट ठूला–ठूला पहिरो खसेका छन्’, उहाँले भन्नुभयो । सडक अवरुद्ध हुँदा अत्यावश्यक काममा दुलेगौँडा पोखरा जानुपर्ने स्थानीय बासिन्दा चिसापानीबाट सालडाँडा राईपुर हुँदै एक घण्टा फेरो बाटो यात्रा गर्न बाध्य भएको उपाध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
तनहुँ शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने सडक कालोपत्रेका लागि स्तरोन्नित गर्ने काम धमाधम भईरहेको थियो । सडक फराकिलो पार्ने र ग्याबिन जाली भर्ने काम सकिएको थियो । तर, पहिरो गएसँगै काम रोकिएको छ । निर्माण कम्पनीले ठूलो क्षति व्यहोर्नु परेको छ । धेरै ठाउँमा सडक नै नरहेको, ग्याबिन जाली पहिरोले खसेको कारण एक करोडको हाराहारीमा क्षति भएको निर्माण कम्पनीले जनाएको छ ।
हरिनास गाउँपालिकाको केन्द्रलाई गण्डकी प्रदेशको केन्द्र पोखरासँग कालोपत्रे सडकबाट जोड्ने उदेश्यका साथ प्रदेश सरकारको लगानीमा क्याङदी खोलमा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भईरहेको छ । ३२ करोड ६५ लाख ४७ हजार १ सय ४९ रुपैयाँमा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ ।
पुलमा कुनै क्षति नभएपनि सडकमा भने दर्जनौँ स्थानमा पहिरोले क्षति पुर्याएको छ । अवरुद्ध सडकलाई खुलाउन सुरु गरिएको गोल्डेनगुड बानियाँ जेभीका साइट सुपरभाईजर रामबहादुर गोलेले बताउनुभयो । ‘पहिरो हटाउन शुरु गरेका छौँ । गाडी चल्न मिल्ने स्थितिमा ल्याउन मात्रै पनि कम्तीमा ३÷ ४ दिन लाग्छ’,उहाँले भन्नुभयो । मनसुनकै सुरुवातमा पहिरो जादा पुगेको क्षतिले सडक निर्माणको काम सक्न निर्धारित समय भन्दा ३ महिना बढी समय लाग्ने उहाँले बताउनुभयो ।