काठमाडौं : यसैसाता हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै गरेको भिडियो भाइरल बन्यो ।
यो भिडियो एकैदिनमा विश्वभर भाइरल बन्यो जसलाई सयौं प्रतिष्ठित मानिसहरुले पनि सामाजिक संजालमा सेयर गरेका छन् । कोभिडको दोस्रो लहरसँग जुधिरहेको नेपालको यस्तो दृश्य देखेर धेरैले टिप्पणी पनि गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोसले पनि यो भिडियोमा प्रतिक्रिया नजनाइरहन सक्नुभएन । उहॉले ट्वीटरमा उक्त भिडियो सेयर गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिनुभएको छ ।
‘जीवनलाई बचाउन स्वास्थ्यकर्मीले कति प्रयत्न गर्छन् भन्ने दृश्य हो यो । विभिन्न ठाउँमा यी नायकहरुलाई अहिलेसम्म खोप नलगाइनू के निश्पक्ष छ त ?’ टेड्रोस भन्नुहुन्छ, ‘खोपको समान वितरणका लागि हामीले हाम्रो शक्ति प्रयोग गर्नु जरुरी छ । अहिले होइन भने कहिले गर्ने त ?’