तनहुँ : कोरोना सङ्क्रमण भएर आइसोलेशनमा रहेका सङ्क्रमितलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ । व्यास र शुक्लागण्डकी नगरपालिकाको आइसोलेशनमा रहेका सङ्क्रमितलाई सुरक्षित आप्रवासन (सामी) परियोजना मार्फत् मनोसामाजिक परामर्श प्रदान गरिएको हो ।
व्यासको सामुदायिक आइसोलेशनका १७ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका १७ सङ्क्रमितलाई परामर्श दिइएको सामी परियोजनाका कार्यक्रम संयोजक लुना रानाले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण भएपछि तनाव हुने, निन्द्रा नलाग्ने र डर लाग्ने जस्ता समस्या हुने भएकाले यसबाट कसरी मुक्त हुने भन्ने विषयमा सङ्क्रमितलाई परामर्श प्रदान गरिएको छ ।
सामी परियोजना अन्तरगत गण्डकी प्रदेशका परामर्शकर्ता सुदीप घिमिरे, सङ्गीत गुरुङ र विजया पौडेलले सङ्क्रमितलाई परामर्श प्रदान गर्नुभएको थियो। व्यासमा सञ्चालित कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले अनुगमन गर्नुभएको थियो ।
परियोजनामार्फत् निषेधाज्ञाको अवधिमा पनि ६ सय जनालाई परामर्श दिइएको रानाले जानकारी दिनुभयो । साथै वैदेशिक रोजगार सम्बन्धी परामर्श आवश्यक परेमा ०६५-५६४०५५ मा सम्पर्क गरेर पनि परामर्श लिन सकिन्छ।
नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तनहुँका व्यास, भानु, शुक्लागण्ड्की नगरपालिका र म्याग्दे गाउपालिकाको नेतृत्वमा सेवा प्रदायक संस्था ग्रामीण सशक्तीकरण समाज दमौलीको सहजीकरणमा परियोजना सञ्चालित छ ।