तनहुँ : कोभिड–१९ को जोखिममा अझै कमी नआएको निष्कर्ष सहित तनहुँमा जारी निषेधाज्ञा असार १६ गतेसम्म लम्ब्याइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिडको जोखिम कम नभएको र समुदायमा फैलिएको अवस्थालाई ध्यानमा राख्दै असार १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।
पाँचौ पटक थप गरिएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्म कायम थियो । निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न स्थानीय तह लगायत सबै पक्षबाट आवश्यक सहयोग गर्ने, साथै यस अघि स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी समयावधि तोकि खुला गरिएका उत्पादन र थप केही व्यवसाय पनि खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
बैङ्क तथा वित्तीय संस्थाहरु न्यूनतम कर्मचारी राखी बिहान ११ बजेदेखि २ बजेसम्म खुल्नेछन् । अत्यावश्यक सेवा तथा वस्तु यसअघि बिहान ५ बजेदेखि १० बजेसम्म खोल्ने भनिएकामा बिहान ५ बजदेखि ९ बजेसम्म खुल्ला गर्ने, अन्य खोल्न अनुमति दिइएको उल्लेखित सेवा तथा व्यवसाय बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने भएको छ ।
स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकलाई व्यापार नगर्न र व्यवसायीहरुले समेत स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी व्यवसाय गर्न अनुरोध गरिएको छ ।
जिल्लामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी व्यवहार गर्दा भयावह स्थिति सिर्जना हुन सक्ने अवस्था समेतलाई मध्यनजर गरी सबै जनसमुदायलाई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।
Scan2021-06-20_160128