व्यासको ३५ औं नगरसभामा पाँच विधेयक प्रस्तुत गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको ३५ औं नगरसभामा पाँच विधेयक प्रस्तुत गरिने

    खबरपुञ्ज संवाददाता

    ६ असार २०७८, सोमबार

    दमाैली : व्यास नगरपालिकाले असार १० गते हुने ३५ औं नगरसभामा पाँच वटा विधेयक प्रस्तुत गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न कार्यपालिकाको बैठकले आगामी वर्ष ०७८÷७९ को बजेट, कार्यक्रम सम्बन्धित समितिबाट पेश भएको प्रस्ताव उपर छलफल गरी संशोधनसहित नगरसभामा पेश गर्ने निर्णय गरेको हो ।

    साथै व्यास नगरपालिकाको भाषा, संस्कृति, साहित्य संरक्षणका लागि “व्यास नगर प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८“, व्यास नगर ऐतिहासिक एवं महत्वपूर्ण पर्यटकीय क्षेत्रको संरक्षण सम्बन्धी विधेयक, २०७८, व्यास नगरपालिकामा कार्यरत स्थानीय तहका स्थायी कर्मचारी समायोजन सम्बन्धी विधेयक, २०७८, व्यास नगरपालिका आर्थिक विधेयक, २०७८ र व्यास नगरपालिका विनियोजन विधेयक नगरसभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    बैठकले नगरपालिका क्षेत्रभित्रका खोप लगाउनुपर्ने सम्पूर्ण बालबालिकाहरुलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्ड अनुसारका सम्पूर्ण खोप लगाईएको हुँदा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको छ ।

    साउन मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन

    नगरपालिकाले साउन मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्ने भएको छ । त्यसका लागि सम्बन्धित वडाको अध्यक्ष वा निजले तोकेको सदस्य संयोजक चयन हुनेछन् ।

    समितिमा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधि सदस्य र समितिले मनोनयन गरेको एक जना महिला सहित २ जना अभिभावक सदस्य चयन हुनेछन् । सम्बन्धित विद्यालयको प्रधानाध्यापक सदस्य सचिव हुने व्यवस्था छ ।

    नगरक्षेत्रभित्रका विद्यालयहरुको व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घहरुको कार्यकाल २०७८ जेष्ठ मसान्तमा समाप्त भएको र असार १ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सञ्चालन भएकाले नियमानुसार व्यवस्थापन समिति गठन नहुँदासम्म यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

    विपद् कोषमा १५ लाख जम्मा गरिने

    नगरपालिकाले गत वर्षको असार साउनमा बाढीपहिराले भत्किएका घर पुनर्निर्माणका लागि बेहोर्नुपर्ने रकम जिल्ला विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको छ । घरनिर्माणका लागि प्रति घरपरिवार रु चार लाख पाउने र लाभग्राहीले पाउने रकमको १५ प्रतिशत रकम नगरपालिकाले बेहोर्नुपर्ने कार्यविधि अनुसार रु १५ लाख ५० हजार तीन किस्तामा जम्मा गरिने भएको छ । नगरपालिकाले ७७ घर निर्माणका लागि रकम बेहोर्नेछ ।