अनुमति बिना क्लिनिक चलाएका दमौलीका औषधी पसल बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनुमति बिना क्लिनिक चलाएका दमौलीका औषधी पसल बन्द

    खबरपुञ्ज संवाददाता

    ६ असार २०७८, सोमबार

    दमाैली : जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सोमबार दमौलीका औषधी पसलहरुको
    अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा भएको अनुगमनमा विभिन्न औषधी पसलले अनुमति बिना क्लिनिक, ल्याव र एक्सरे समेत सञ्चालन गरेको पाइएको छ ।

    अनुमगनको क्रममा व्यास–३ मा रहेको प्रसुन थापा मेडिकलले फार्मेसी दर्ता प्रमाणपत्र बिना औषधी पसल र क्लिनिक समेत सञ्चालन गरेको पाइएको हुँदा उक्त पसलमा ताला लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । उक्त औषधी पसललाई सबै प्रक्रिया पूरा गरेर आउन समय दिइएको बरालले जानकारी दिनुभयो ।

    त्यस्तै व्यास–२ मा रहेको ऋषि स्वास्थ्य क्लिनिकले अनुमति बिना एक्सरे सेवा सञ्चालन गरेकाले बन्द गराईएको सहायक प्रजिअ बरालले बताउनुभयो । उक्त पसलमा औषधीको खरिद मुल्य भन्दा विक्री मुल्य अत्याधिक बढि देखिएपछि छानबिनको लागि औषधीको बिल समेत जफत गरिएको प्रशासनले जनाएको छ ।

    त्यसैगरि फार्मेसी मात्र दर्ता गरि क्लिनिक समेत सञ्चालन गरेको व्यास–२ को राना मेडिकलको क्लिनिक बन्द गर्न सचेत गराइएको छ । अनुमगनमा जिल्ला प्रहरी कार्यालय, व्यास नपा स्वास्थ्य शाखा, जिल्ला घरेलु कार्यालय लगायतको सहभागिता रहेको थियो ।

    सङ्घीय संरचना अनुसार स्वास्थ्य क्षेत्रको नियमन गर्ने सबै अधिकार अहिले स्थानीय तहलाई भएको हुँदा अनुगमन र सञ्चालनको अनुमति सबै स्थानीय तहले नै जिम्मा लिनुपर्ने सहायक प्रजिअ बरालले बताउनुभयो । तर व्यास नपाले अनुगमन नगरेको र अहिले स्वास्थ्य क्षेत्रमा निकै जोखिमपूर्ण अवस्था भएकाले प्रशासनको अगुवाईमा अनुगमन गरिएको उहाँले बताउनुभयो । सोमबार दमौलीका सात वटा औषधी पसलहरुको अनुमगन गरिएको थियो ।