तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–१ ले बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । गाउँपालिकालाई मासुमा आत्मनिभर बनाउने उद्देश्यसहित उक्त वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा अगाडी बढाइएको हो ।
यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ । वडाभित्रका एक सय ८० बाख्रापालक कृषकलाई वडा कार्यालयले किम्बुको बिरुवा वितरण गरेको छ । चितवनबाट खरिद गरी ल्याइएका दश हजार घाँसका बिरुवा कृषकलाई वितरण गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, गाउँपालिका, वडा कार्यालय र कृषकको समेत लागत सहभागितामा बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले उक्त वडालाई बाख्रा पकेट विकास कार्यक्रममा छनौट गरेको छ । सोही बमोजिम वडाका ४५ कृषकलाई रु २० हजारका दरले खोर सुधार कार्यक्रमका लागि रकम प्रदान गरिएको छ ।
“बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न बाख्रापालक कृषकहरुलाई प्राविधिक तालिम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ,” पोख्रेलले भन्नुभयो, “व्यावसायिक रुपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।” उहाँका अनुसार किम्बुको घाँस बाख्राका लागि पोसिलो हुने र बाख्रा पनि चाँडै बढ्छ ।
गाउँपालिकाका पशु शाखाका प्राविधिक मधुविलास न्यौपानेले किम्बुको घाँस हुर्काउन सजिलो र बाख्राका लागि उपयुक्त रहेको जानकारी दिनुभयो । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने तथा किसानलाई आर्यआर्जनमा जोड्ने उद्देश्यले बाख्रा पकेट कार्यक्रम सञ्चालन गरिएको छ ।
बाख्रापालक कृषक मदन अधिकारीले वडा कार्यालयले दिएको किम्बु घाँसको बिरुवाले बाख्रापालनका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले एक सय भन्दा बढी बाख्रापालन गर्नुभएको छ । बाख्रापालक कृषक सविना बानियाले वडाले उपलब्ध गराएको बिरुवा हुर्काएर धेरैभन्दा धेरै घाँस उत्पादन गर्ने बताउनुभयो ।
बाख्राको नश्ल सुधार गरी कम्तीमा पाँच वर्षमा वडालाई बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । यस वडामा एक हजारको सङ्ख्यामा बाख्रापालन गरिएको छ ।
बाख्रा पकेट कार्यक्रमका लागि गाउँपालिकाले यस वडाका लागि रु १५ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकार्यक्रम मार्फत् घाँसको बीउ, नश्ल सुधार तथा खोर सुधारका कार्यक्रम सञ्चालन हुनेछन् ।