रुखमाथि बनेको घरमा सर्वसाधारणलाई राेक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रुखमाथि बनेको घरमा सर्वसाधारणलाई राेक

    खबरपुञ्ज संवाददाता

    ७ असार २०७८, मंगलवार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि निर्माण गरिएको घरमा सर्वसाधारणलाई राेक लगाइएको छ । कोरोना कहर र निषेधाज्ञाको बीचमा पनि आकर्षणस्थल बनेको यस ठाउँमा केही समयका लागि सर्वसाधारणलाई राेक लगाइएको हो ।

    राष्ट्रिय समाचार समिति (रासस) मार्फत् यस ठाउँको समाचार तथा तस्वीर प्रकाशन भएसँगै सर्वसाधारणको थप आकर्षण बढेको थियो । सर्वसाधारणको भीड बढेपछि प्रहरीले त्यहाँ पुगेका सर्वसाधारणलाई फिर्ता पठाएको छ । केही समयका लागि सर्वसाधारणको आगमन रोक्न प्रहरीले समितिलाई अनुरोध गरेको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जनकारी दिनुभयो ।

    “दैनिक रुपमा सर्वसाधारणको आगमन बढेपछि केही समयका लागि बन्द गर्न प्रहरीबाट अनुरोध आएको छ, त्यहाँ थप केही काम पनि बाँकी रहेकाले दश÷१५ दिन प्रवेश निषेध गरेका हौ,” उहाँले भन्नुभयो । हरियाली उद्यान सहित निर्माण गरिएको घरमा भ¥याङ हाल्ने बाँकी छ । साथै उद्यानमा रेलिङको काम पनि बाँकी छ ।

    रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रुखमाथि घर बनाईको छ । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।

    पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीय स्थल बनाउने उद्देश्य बमोजिम उद्यानका साथै रुखमा घर बनाइएको हो । “उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडी सारेका हौ,” उहाँले भन्नुभयो, “रुखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।”

    रुखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । “दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सात जना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ,” उहाँले भन्नुभयो । उक्त ठाउँलाई वनभोजस्थलको रुपमा विकास गर्ने योजना छ ।