तनहुँमा सरकारी कार्यालयका सेवा प्रवाह सुचारु गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सरकारी कार्यालयका सेवा प्रवाह सुचारु गरिने

    खबरपुञ्ज संवाददाता

    ८ असार २०७८, बुधबार

    दमाैली : कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लाका सरकारी कार्यालयका सेवा प्रवाह स्थगित छ । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी रहेको तनहुँमा आन्तरिक कार्य सञ्चालनका लागि मात्रै सरकारी कार्यालय खुल्ला छ । तर यसबीचमा सेवाग्राहीलाई प्रवाह गरिने सेवा स्थगित छ ।

    लामो समयसम्म सेवा प्रवाह स्थगित गर्दा सर्वसाधारणलाई अप्ठ्यारो पर्ने भएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी कार्यालयका सेवा सुचारु गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्लास्तरीय अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक सागर आचार्यको अध्यक्षतामा बुधबार बसेको बैठकले सेवा प्रवाहलाई सुचारु गर्न सम्बन्धित कार्यालयले तीन दिनभित्र योजना बनाएर जिल्ला प्रशासन कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

    सबै सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह पारदर्शी र निष्पक्ष रुपमा गर्न गराउन उचित प्रबन्ध मिलाउन सबै सरकारी निकायका प्रमुखलाई निर्देशन दिइएको छ । “कोभिड सङ्क्रमणको जोखिम उच्च भई प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी भई सेवा प्रवाह स्थगित गरिएको अवस्था छ, लामो समयसम्म सेवा प्रवाह नहुँदा सर्वसाधारणलाई अप्ठ्यारो परिरहेको छ,” प्रशासकीय अधिकृत डाँसीराम पौडेलले भन्नुभयो, “सेवा सुचारु गर्नका लागि सबै कार्यालय प्रमुखलाई योजना बनाउन निर्देशन भएको छ ।”