दमाैली : तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५ औं नगरसभामा उपप्रमुख मीरा जोशीले आर्थिक वर्ष ०७८÷७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले नगर अस्पताल सञ्चालन, कृषिमा व्यावसायिककरण र पर्यटन क्षेत्रको प्रबद्र्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट जिल्लावासी, नगरवासीको जीवन रक्षाका लागि सङ्घीय सरकार, प्रदेश सरकार, सबै पालिका र नागरिक समाजको सहभागितामा दुम्सीबजारको आधारभूत स्वास्थ्य चौकीमा पिसीआर परीक्षण प्रयोगशाला सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
हाल कृषि विकास बैङ्कको भवनमा २५ शय्याको आइसोलेशन केन्द्र स्थापना गरिएकामा आगामी वर्ष दुम्सी बजारमा रहेको आधारभूत स्वास्थ्य केन्द्र अन्तर्गत नगरपालिका मातहतमा रहने गरी अस्पताल सञ्चालन गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताउनुभयो ।
विद्यमान कोरोना महामारीबाट प्राप्त तितो अनुभव र यसले सिकाएको पाठलाई ध्यानमा राखी दमौलीस्थित जिल्ला अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने गरी व्यास–११ पोल्याङमा करिब एक सय रोपनी जग्गा उपलब्ध गराउने र गुरुयोजना तयार गरिने जोशीले बताउनुभयो । हाल सञ्चालित दमौली अस्पताललाई भने व्यास नगरपालिका अन्तर्गत ल्याउन सम्बन्धित निकायमा पहल गर्ने नीति लिइएको छ । जिल्ला अस्पतालमा न्यूनतम एक सय शय्यामा डायलासिस, सुत्केरी, आइसियु, भेन्टिलेटर समेतको विशेषज्ञ सेवा र सुविधा उपलब्ध गराउन पहल गरिनेछ ।
नगरपालिकाले हरेक स्वास्थ्य संस्थाहरुको सेवालाई स्तरीकरण गर्दै हरेक वडामा स्वास्थ्य स्वयंसेविकको सहयोगमा सरुवा रोग लगायतका सङ्क्रमणबाट नगरवासीलाई सुरक्षित राख्न व्यवस्था मिलाउने नीति लिइएको उपप्रमुख जोशीले बताउनुभयो ।
कोरोना कहरका कारण वैदशिक रोजगारीबाट घर फर्किएका युवालाई लक्षित गरी विविध कार्यक्रम ल्याउने नगरपालिकाले जनाएको छ । जोशीका अनुसार व्यास नगरपालिका क्षेत्रभित्र रहेका निजी तथा सार्वजकि अवस्थाका खाली जमिनको उत्पादनशील उर्जालाई खेर जान नदिन र कृषियोग्य भूमिको उपयोग गरी कृषि उत्पादनलाई बढवा दिइनेछ । आगामी वर्ष नगरपालिकाले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण र विशिष्टकरण गर्दै स्थानीय स्तरको उत्पादन वृद्धिमा जोड दिने नीति अवलम्बन गरेको छ ।
कृषि उत्पादनलाई सङ्कलन गर्न हरेक वडामा न्यूनतम एक कृषि उपज सङ्कलन केन्द्र र बजारीकरणका लागि कृषि उपज ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइनेछ । नगरपालिकाले आलु, लसुन, प्याजको पकेट क्षेत्र निर्धारण गरी उत्पादनमा लाग्ने किसानलाई अनुदानको व्यवस्था मिलाउने भएको छ ।
नगरको विकासमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलहरुको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासका लागि कानून निर्माण गर्ने नीति अवलम्बन गरिएको छ । १०८ फिटको व्यासमूर्ति, व्यास गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला, ऐतिहासिक तनहुँसुर दरबार, मानुङकोट, गलेखामकोट, कालिका शहीद जङ्गलपार्क, क्यामिनकालिका, सिद्धेश्वरी राजापानी महादेव, छाङ्गावाराही मन्दिरको संरक्षण र सम्बद्र्धन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
व्यास–१० दुम्सीचौरमा पर्यटकीय प्रबद्र्धनका लागि नारेश्वर ताल निर्माण सम्पन्न गर्ने र भानुघाँसी स्मारक पार्कलाई व्यवस्थित गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताउनुभयो । उहाँका अनुसार मानुङ यात्राका लागि केबलकार, मानुङकोटमा तारे होटल निर्माण, शिशा पुल निर्माण, जीप लाइन लगायतका निर्माण कार्यका लागि निजी लगानीकर्तालाई आकर्षित गरी साझेदारी गर्ने नीति लिइएको छ ।
नगरसभामा नगरप्रमुख वैकुण्ठ न्यौपानेले स्रोत र सीमाहरुमा रहेर कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत पूर्वाधार निर्माणका कार्यहरु गर्दै आएको बताउनुभयो ।
पूर्णपाठ