दमौली : गत मंगलबार प्रहरी प्रधान कार्यालयले देशभरका ५२ प्रहरी उपरीक्षकको सरुवा गर्यो । सोही सरुवामा तनहुँका प्रहरी प्रमुख अरुण पौडेल पनि पर्नुभयो ।
झण्डै एक वर्षे कार्यकाल सकेर पौडेल तनहुँबाट विदा हुन लाग्नुभएको छ । गत साउनमा तनहुँका प्रहरी उपरीक्षकका रुपमा आउनुभएका पौडेलका सामु त्यतिबेला धेरै कार्यभार तथा चुनौति थिए ।
कोरोना सङ्क्रमणको समयमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुरबाट सरुवा भएर तनहुँ आउनुभएका उहॉको अगाडी बढ्दो कोरोना संक्रमणको रोकथाम, कोरोना सम्बन्धी सचेतना फैलाउनु साथै आपराधिक घटना न्यूनीकरण, लागूपदार्थको दुर्व्यसन तथा ओसारपोसार नियन्त्रण, सडक दुघर्टना र फरार अभियुक्तलाई पक्रनु चुनौति थियो । यति मात्र नभएर सुस्त रहेको प्रहरी कमाण्डलाई परिचालन गर्दै चुस्त र जबरजस्त बनाउनु पनि उहॉको कॉधमा जिम्मेवारी थियो ।
भौतिक तथा सीमित श्रोत साधनलाई प्रयोग गर्दै तनहुँ प्रहरी कमाण्डलाई सम्पन्न पार्नुपर्ने दायित्वका बीच कार्यकाल सकिएर हिँड्नै लाग्दा पौडेलले भने जिल्लावासीबाट सद्भाव बटुल्नुभएको छ । प्रहरी कमाण्डमा राम्रो छवि र अनुसन्धानमा दक्षता हासिल गर्नुभएका पौडेलको अनुभवले तनहुँलाई राम्रै फाइदा भएको विश्लेषण गरिएको छ ।
उहॉको कार्यकालमा तनहुँमा राष्ट्रिय राजनीति नै तताउने घटना र केही हिंसात्मक घटना घटे पनि कुनै पनि घटनामा दोषी नै पहिचान नहुने अवस्था भने आएन ।विशेष गरि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएपछि उहॉ एकाएक चर्चित बन्नुभयो ।
व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुग्नुभएका नेता पौडेललाई तनहुँ प्रशासनले निषेधाज्ञा उल्लघंन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । नेता पौडेलले सुरक्षा घेरा तोडेका र भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको तनहुँ सिडिओ सागर आचार्यले त्यस समय बताउनुभएको थियो । त्यस समय पछि तनहुँ कांग्रेस बृतमा एसपी पौडेललाई हेर्न दृष्टिकोण फरक देखिएको थियो । व्यासका मेयर बैकुण्ठ न्यौपानेले सो घटना प्रति केन्द्रित हुँदै विगतमा एसपीहरु २४ घण्टामा सरुवा भएको इतिहास समेत रहेको भाषण गर्नुभएको थियो ।
२०७७ असोज ९ गते तनहुँको शुक्लागण्डकी-७ कुम्लेखोलाकी ६० वर्षीया तेजकुमारी ढकाल मृत अवस्थामा भेटिनुभयो । आफ्नै घरभित्रै झुण्डिएको अवस्थामा शुक्रबार विहान भेटिनुभएकी ढकालको मृत्यु हेर्दा हत्या जस्तो पनि देखिन्थ्यो । शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भएकाले प्रहरीले घटनालाई शंकास्पद ठानेर अनुसन्धान गरेको थियो । प्रहरी प्रमुख एसपी पौडेलको टोलीले घटनाको अनुसन्धान थालेको थियो ।
घटना सार्वजनिक भएको सात घण्टाभित्रै अभियुक्तको आरोप लागेका गोरखा भिमसेन थापा गाउँपालिका-१ बसेनी निवासी ४६ वर्षका शिव गौतमलाई घटना सार्वजनिक भएकै दिन शुक्रबार दिउँसो तीन बजे व्यास २ स्थित सहिदगेटबाट पक्राउ गर्न सफल भयो ।
त्यस्तै व्यास नगरपालिका १० परेवाडाँडामा करिब एक महिना अघि २७ वर्षीय मनुमाया थापा घरभित्रै मृत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले महिलाको हत्या भएको हुन सक्ने भन्दै अनुसन्धानको माग गरेका थिए । प्रहरीले घटना लगतै सोही स्थलबाट एक युवकलाई अनुसन्धानको लागि भनेर हिरासतमा लिएको थियो ।
प्रहरी उपरीक्षक पौडेलकै कार्यकालमा नदीको दोहनका घटना पनि सोचेभन्दा बढी नियन्त्रण भयो ।उहॉका पालामा साना ठुला गरी दुई सय ६६ सवारी साधन र २२ लाख दस हजार सात सय जरिवाना संकलन भयो ।
तनहुँ आउँदाको समयदेखि नै फरार अभियुक्तप्रति आक्रामक रुपम प्रस्तुत हुनुभएका पौडेलले चार सय फरार अभियुक्तलाई पक्राउ गरी एक सय एकाउन्न वर्ष सजाय र ६६ लाख सम्मको जरिवान भुक्तानी गराउन सफल हुनुभयो । हँसिलो मुहार, कुटनैतिक स्वभाव र उच्चस्तरको सुझबुझका कारण पौडेल अरु प्रहरी उपरीक्षकभन्दा फरक देखिनुभयो ।
समग्रमा तनहुँबासीको माया पाएर गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा हुनुभएका पौडेलको जिम्मेवारी सम्हाल्न अब एसपी दिनेशराज मैनाली आउन लाग्नुभएको छ । हाल बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुर मानवस्रोत व्यवस्थापन महाशाखामा कार्यरत मैनाली तनहुँ आउन लाग्नुभएको हो ।