दुई युवा समूहको विवाद : भिमादमा किन भयो घर तोडफोड ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई युवा समूहको विवाद : भिमादमा किन भयो घर तोडफोड ?

    खबरपुञ्ज संवाददाता

    १० असार २०७८, शुक्रबार

    भिमाद : तनहुँको भिमादमा केही समय अगाडी दुई युवा समूहबीच झडप भयो । भिमाद नगरपालिका–७ स्थित शितलचौतारामा बागटारका युवा र अर्का युवा समूहबीच भएको भगडामा एक जना घाइते भए ।

    दुई युवा समूहको झगडाले उग्र रुप लिँदा भिमाद बजारस्थित रत्नचोकका केही घर तोडफोड भएको छ । घाइते भएका युवालाई रत्नचोकस्थित एक घरमा बस्ने सुरज नेपालीले कुटपिट गर्न लगाएको भन्दै घाइतेतर्फका युवाहरुले चार/पाँच घर तोडफोड गरेका छन् ।

    घटना अघिल्लो सोमबार रातिको हो । रातको ११ बजे करिब २० जनाको समूहमा आएका युवाहरुले होहल्ला गर्दै रत्नचोकका घरहरुमा बोतल प्रहार गर्दै तोडफोड गरेका थिए । सुरजको खोजीमा आएका ती युवाहरु समाज आतङ्कित बनाउने गरी तोडफोडमा उत्रिएका थिए । सुरज रत्नचाेककै एक घरमा भाडामा बस्दै आएका छन् ।

    घटनालगत्तै इलाका प्रहरी कार्यालय भिमादबाट प्रहरीको टोली आइपुगेपनि उक्त टोलीले युवाहरुलाई पक्राउ गर्न नसकेको स्थानीयवासी बताउँछन् । “भिमादको टोलीले पक्राउ गर्न नसकेपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट थप प्रहरी मगाइएको थियो तर त्यतिबेलासम्म युवाहरु भागिसकेका थिए,” एक स्थानीयवासीले भन्नुभयो । समाज आतङ्कित पार्ने गरी भएको घटनामा संलग्न युवाहरु अझै पक्राउ पर्न नसक्नु दुःखद भएको उहाँको भनाई छ ।

    इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करले साथीसाथीबीचकै झगडाले यो रुप लिएको भन्दै तोडफोडमा संलग्न युवाहरुको खोजी भइरहेको बताउनुभयो । “थप अप्रिय घटना नहोस् भन्नका लागि व्याकअप टोली शुक्लागण्डकीबाट मगाएका थियौ, घटनामा संलग्न युवाहरुको खोजी कार्य जारी छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार तोडफोड भएका घरधनीबाट प्रहरी कार्यालयमा ठाडो निवेदन प्राप्त भएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले गलत काम गर्ने कानूनबाट उम्किन नसक्ने बताउनुभयो । “उनीहरुलाई खोज्न प्रहरी परिचालन गरिएको छ, घरमा पनि आएका छैनन्, भागेर कहाँ जालान् र कानूनी दायरामा आउनैपर्छ,” उहाँले भन्नुभयो ।