ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ मा एकल पुरुषलाई भत्ता उपलब्ध गराउन लागेको हो ।
गरिब तथा विपन्न एकल पुरुषलाई भत्ता उपलब्ध गराउने नीति लिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । सङ्घीय सरकारले एकल महिलालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । सरकारले एकल महिलालाई मासिक रु तीन हजार उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकाले उत्कृष्ट बुहारीलाई सम्मान गर्ने कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । आमासँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत वृद्ध एवं अशक्त आमाबुबा तथा सासु ससुरालाई राम्रो हेरचाह तथा स्याहारसुसार गर्ने बुहारीलाई सम्मान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाले महिलाहरुलाई उद्यमशील तथा आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्न उपाध्यक्ष महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यस्तै सुत्केरी महिलालाई पोषिलो खानेकुरा खानका लागि सुत्केरी पोषण भत्ता, दलित समुदायको परम्परागत सीप तथा पेशाको संरक्षण र सम्बद्र्धन गरी आयआर्जन बढाउन आरनसुधार, बाजा वितरण लगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिको जीवनयापनलाई सहज र सरल बनाउन सरकारले सामाजिक सुरक्षा भत्ता नदिने ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई वार्षिक एकमुष्ठ भत्ता उपलब्ध गराउने नीति गाउँपालिकाले बनाएको छ ।
बिहेवारी बीस वर्ष पारी
गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि बिहेवारी बीस वर्ष पारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । २० वर्ष पूरा भएपछि मात्रै विवाह गर्नुपर्ने कानूनी व्यवस्थालाई किशोरकिशोरी तथा अभिभावकसम्म पु¥याउन यो कार्यक्रम सञ्चालन गर्न लागिएको उपाध्यक्ष गिनुमाया थापाले बताउनुभयो ।