मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई व्यावसायिक बनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई व्यावसायिक बनाइँदै

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७८, शनिबार

    तनहुँ : मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका कृषकलाई घाँसका बिरुवा वितरण गरिएको छ । तनहुँको घिरिङ गाउँपालिका–२ स्थित देउराली, दुम्कोट, घुर्लीछाप, घ्याछापका कृषकलाई घाँसका बिरुवा, औषधि, झोलमलका लागि ड्रम र जोख्ने मेशिन वितरण गरिएको हो ।

    गण्डकी प्रदेशको भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयमार्फत गत फागुनदेखि उक्त चार गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँको कार्यक्रम सञ्चालित छ । यस कार्यक्रममार्फत उक्त चार गाउँका १०५ घरधुरी आबद्ध रहेका कृषि प्राविधिक लुना अर्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ती कृषकलाई करीब ३२ हजार डाँलेघाँस र ६२ हजार भुइँघाँसका बिरुवा वितरण गरिएको छ । त्यस्तै मलका लागि २५ ड्रम, चार गाउँका लागि एक÷एक गरी चार बोयर जातका बोका, होर्डिङबोर्ड र दुई जोख्ने मेशिन वितरण गरिएको छ । बाख्राका लागि औषधि पनि वितरण गर्ने तयारी गरिएको अर्यालले बताउनुभयो ।

    मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम चार वर्ष सञ्चालन हुनेछ । पहिलो वर्षका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । यसमा ८५ प्रतिशत मन्त्रालयले सहयोग गरेको छ भने १५ प्रतिशत समूहले लागत साझेदारी गर्नुपर्नेछ ।

    यस कार्यक्रममार्फत देउरालीका ५०, दुम्कोटका २३, घुर्लीछापका १७ र घ्याछापमा १५ घरधुरी आबद्ध छन् । कृषि प्राविधिक अर्यालका अनुसार यस वर्ष उक्त गाउँमा बाख्रापालनका लागि आवश्यक सहयोग गरिएको छ । “यस वर्षको बजेट बाख्रापालनमा लक्षित छ, आगामी वर्ष तरकारी, फलफूल लगायतका लागि सहयोग गरिनेछ”, उहाँले भन्नुभयो, “कृषक जागरुक र उत्साहित छन् ।”

    घिरिङ बाख्रापालक कृषक समूहकी अध्यक्ष विमला आलेले कार्यक्रम लागू भएपछि यहाँका कृषक व्यावसायिक बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यहाँका कृषकले कम्तीमा १५÷२० बाख्रापालन गर्दै आएका छन् । “यो कार्यक्रम कृषकमैत्री छ, निर्वाहमुखी रुपमा मात्रै कृषि र पशुपालन गर्दै आएका कृषकलाई व्यावसायिक बन्न प्रेरित गरिएको छ”, उहाँले भन्नुभयो ।

    प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री किरण गुरुङको सिफारिसमा मन्त्रालयले यस गाउँलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँका रुपमा छनोट गरेको थियो । त्यसका लागि कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

    निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमूना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले विसं २०७५ चैत १० गतेदेखि प्रदेशभर यो कार्यक्रम लागू भएको घोषणा गरेको थियो । सोही बमोजिम यहाँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनीलगायत गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम लागू गरिएको छ ।