शब्द/तस्वीर : विनोद ढुंगाना
दुलेगाैडा : किसानको पसिनामा बगरको थुप्रो मिसिएको छ । फाँटमा लहलह धानको बाला झुल्दै थिए । भकारीको धान हाल्ने तयारी गर्दै थिए किसान । धान थन्काएर वर्षभरीलाई ढुक्क हुने सुरमा थिए उनीहरु ।
ब्याडमा बीउ हरियो बन्दै थिए । रोपेको धानले गाज हाल्दै थियो । खेतमा मकै सुकेर घर लाने तयारी चल्दै थियो । तर, बिहीबार विहानीपखको भीषण वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८, ९, १० मा किसानको पसिनामा बाढी मिसिदियो ।
ढोर क्षेत्र हरिया फाँटहरु बगरमा परिणत भएका छन् । वर्षभरी के खाएर बाँच्ने ? बगरको थुप्रो हटाएर फेरि कसरी रोपाइँ गर्ने ? किसान यही पीडाले छटपटाइरहेका छन् ।