तस्वीर : सङ्गम सुमिर पिया
तनहुँ : केही दिनदेखि परेको निरन्तर वर्षाका कारण विद्युत पोलमा क्षति पुग्दा तनहुँका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको छ । लगातारको वर्षाले पोल क्षति हुँदा जिल्लाका करिब आठ हजार ग्राहक विद्युत सेवाबाट वन्चित भएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २८ वटा विजुलीको पोल पहिरोले क्षति पुगेको छ । व्यास नगरपालिका–१० बोटेगाउँमा एक, व्यास नगरपालिका–१२ देउराली, छिर्कने र जौबारीमा आठ, व्यास नगरपालिका–१३ छाब्दीमा चार, भानु नगरपालिका–१ साझबोटेमा पाँच, भानु नगरपालिका–३ तुरतुरेमा तीन पोलमा क्षति पुगेको छ ।
त्यस्तै भानु नगरपालिका–६ बरभञ्ज्याङमा दुई, बन्दीपुर–२ भैसेखारमा चार, भानु नगरपालिका–१३ पोखरीछापमा एक पोलमा क्षति पुगेको छ । “पहिरोले क्षति भएको पोलहरुको मर्मत कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “पूर्ण रुपमा सञ्चालन हुन अझै तीन/चार दिन लाग्नेछ ।”
विद्युत पोलमा क्षति पुगेर विद्युत अवरुद्ध हुँदा दैनिक जीवनमा प्रत्यक्ष असर परेको बन्दीपुरका स्थानीयवासी बसन्त पौडेलले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले विद्युत अवरुद्ध हुँदा गाउँपालिकाको काम समेत प्रभावित भएको जानकारी दिनुभयो ।