अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७८, आईतवार

    काठमाडौ: अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल आइपुग्ने कार्यतालिका रहेको छ ।

    उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु । राजदूत खतिवडाले राष्ट्रपति विद्या देवी भण्डारीले प्रेषित गर्नुभएको पत्रको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति जो वाइडेनले नेपाललाई अधिकतम सहयोग गर्ने बताउनुभएको जानकारी दिनुभयो ।

    राष्ट्रपति वाइडेनले राष्ट्रपति भण्डारीलाई प्रेषित गर्नुभएको पत्रलाई उदधृत गर्दै राजदूत खतिवडाले भन्नुभयो, “अमेरिकी सरकारले जी–७ को बैठकले पारित गरेको खोपसम्बन्धी निर्णयलाई कार्यान्वयन गर्नेछ । हालै सम्पन्न जी–७ को बैठकले विश्वव्यापीरूपमा खोप वितरणलाई उच्च प्राथमिकतामा राखिने निर्णय गरेको थियो ।