कार्यदलको सहमतिले एमालेमा उत्साह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कार्यदलको सहमतिले एमालेमा उत्साह

    खबरपुञ्ज संवाददाता

    २७ असार २०७८, सोमबार

    तनहुँ : दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि सहमति सार्वजनिक गरेपछि सत्तारूढ नेकपा एमाले दलभित्र उत्साह पैदा भएको छ । शीर्ष नेताका बीचमा लामो समयदेखि देखिएको अविश्वास, मनमुटाव र कटुतापूर्ण सम्बन्धका कारण पार्टी विभाजित हुनसक्ने र मुलुकको समृद्धि र स्थिरतामा असर पार्न सक्ने चिन्तालाई अन्त्य गर्दै आइतबार राति कार्यदलले सहमति सार्वजनिक गरेको थियो ।

    ‘लगातार र कठोर मेहनत’ पछि कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई आज बस्ने पार्टीको स्थायी कमिटीको र मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नेछ । प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत् एवं संस्थागत निर्णयअनुरुप अगाडि बढ्ने सहमतिलाई व्याख्या गर्ने सन्दर्भमा केही आ–आफ्ना प्रस्तुति देखिए पनि आमरुपमा सहमतिलाई स्वागत गरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कार्यदलकै सहमतिको स्वागत र टिप्पणी देखिएको छ ।

    नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले आन्तरिक एकता सुदृढ पार्ने दश बुँदे सहमति स्वागतयोग्य रहेको बताउनुभयो । “भविष्यमा यस्ता समस्या दोहोरिनेछैन, केही समय टाढिएका मन मिलाउँदै आन्दोलनलाई शिखरमा पुर्याउन नेतृत्व सफल हुनेछ,” सिग्देलले भन्नुभयो । उहॉले कार्यकर्ताको खवरदारी, कार्यदलको अथक मिहीनेतले सफलता प्राप्त गरेको उल्लेख गर्नुभयो ।

    नेकपा एमालेका नेता एवं विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ, राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले एमालेमा विवाद समाधान हुन सुखद रहेको बताउनुभयो ।