दमौली : प्रसिद्ध धार्मिकस्थल तनहुँको व्यास नगरपालिका-१४ स्थित छाब्दीवाराही धार्मिक वनको रुपमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले छाब्दीवाराहीलाई धार्मिक वनको रुपमा समुदायलाई हस्तान्तरण गरेको हो ।
हालै आयोजित एक कार्यक्रमका बीच डिभिजन वन प्रमुख कोमलराज काफ्लेले छाब्दीवाराही धार्मिक वनका अध्यक्ष एवं छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापालाई उक्त धार्मिक वनको स्वामित्व हस्तान्तरण गर्नुभएको छ ।
धार्मिक वनले पॉच हेक्टर क्षेत्रफल ओगटेको सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइरालाले जानकारी दिनुभयो । सोही वन क्षेत्रभित्र छाब्दीवाराही मन्दिर पनि समेटिएको उहॉले बताउनुभयो । “२०/२१ वर्षदेखि धार्मिक वन बनाउन पहल भएको थियो, अहिले आएर त्यो कामले साथर्कता पायो,” उहॉले भन्नुभयो ।
कुनै धार्मिक स्थल वा त्यसको वरिपरीको राष्ट्रिय वनको विकास, संरक्षण र उपयोग गर्न चाहने कुनै धार्मिक निकाय, समूह वा समुदायले त्यस्तो वनको क्षेत्रफल, चार किल्ला, त्यस्तो वनमा गरिने कार्यहरु तथा तोकिए बमोजिमका अन्य विवरणहरु खुलाई डिभिजनल वन अधिकृत समक्ष निवेदन दिनुपर्ने प्रावधान छ ।
धार्मिक वनमा रहेका वन पैदावार सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले व्यापारिक प्रयोजन बाहेकका अन्य धार्मिक कार्यमा उपयोग गर्न सक्नेछ । तर वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने गरी वा सार्वजनिक रुपमा हानि नोक्सानी हुने गरी वा जलाधार क्षेत्रमा भू–क्षय हुन सक्ने गरी रुख कटान गर्न नपाइने वन ऐनमा उल्लेख गरिएको छ ।
धार्मिक वनमा सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले नियम विपरीतको कार्य गरेमा वा धार्मिक वनमा गर्नुपर्ने कार्य सञ्चालन गर्न नसकेमा वा ऐन र ऐन अन्तर्गत बनेको नियम बमोजिम पालन गर्नुपर्ने कुराहरु पालन नगरेमा डिभिजनल वन अधिकृतले त्यस्तो धार्मिक वन फिर्ता लिने निर्णय गर्न सक्नेछन् ।