तनहुँ : ज्यान मार्ने उद्योगमा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले ज्यान मार्ने उद्योगमा कैद र जरीवाना फैसला तोकिएका प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–१ स्थायी घर भई हाल व्यास नगरपालिका–५ पतेनी बस्ने ४० वर्षीय पपे भन्ने पपेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निज विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०६० असार १२ गते ८ वर्ष कैद र रु ५२ हजारको जरीवानाको फैसला सुनाएको थियो ।
यसैगरी प्रहरीले अन्य चार फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । लागुऔषध चरेश समेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय सुशील पोख्रेल पक्राउ परेका छन् । निज विरुद्ध जिल्ला अदालतले विसं २०७५ जेठ २० गते चार दिन कैद र रु एक हजार जरीवानाको फैसला सुनाएको थियो ।
लागु औषध चरेश समेत मुद्दामा शुक्लागण्डकी नगरपालिका–१० खोरादीकै सन्जु भन्ने ३४ वर्षीय कृष्णबहादुर धिमाल पक्राउ परेका छन् । निजलाई पनि सोही दिन चार दिन कैद र रु एक हजार जरीवाना साथै रु दुई सय क्षतिपूर्तिको फैसला भएको थियो ।
लागु औषध डाइजेपाम समेत मुद्दामा व्यास नगरपालिका–१ बस्ने २२ वर्षीय सन्तोष कार्की पक्राउ परेका छन् । निज विरुद्ध अदालतले विसं २०७७ फागुन २६ गते दुई महिना २९ दिन कैद र रु १२ हजार जरीवाना साथै रु आठ सय क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
लागु औषध मुद्दामा व्यास नगरपालिका–३ शान्तिनगर बस्ने ३७ वर्षीय लक्ष्मण दनुवार पक्राउ परेका छन् । निजविरुद्ध अदालतले विसं २०७६ भदौ ३ गते सात दिन कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आजै जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।