तनहुँ : पहिराबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई सङ्घ सरकारको तर्फबाट राहत वितरण गरिएको छ । गत असार १७ गतेको पहिरामा पुरिएर मृत्यु भएका दुई जनाका परिवारलाई सङ्घ सरकारको तर्फबाट सोमबार रु चार लाख राहत वितरण गरिएको हो ।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पीडितको घरमै पुगी जनही रु दुई लाखका दरले राहत रकम वितरण गर्नुभएको छ । सो क्रममा प्रतिनिधि सभा सदस्य श्रेष्ठले मानिसको जीवन पैसासँग तुलना गर्न नमिलेपनि पीडित परिवारको साथमा सरकार छ भन्ने अनूभुति गराउन राहत वितरण गरिएको बताउनुभयो ।
पहिरोमा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । यसअघि गण्डकी प्रदेश सरकारले पनि प्रति मृतक रु ५० हजारका दरले राहत रकम प्रदान गरिसकेको छ ।
पहिरामा मृत्यु भएकाका परिवारलाई जनही रु दुई लाखका दरले राहत वितरण गर्ने प्रावधान अनुरुप ऋषिङका पीडितलाई पनि केही समयपछि राहत उपलब्ध गराइने जानकारी दिनुभयो । गत असार १७ र २४ गतेको पहिरामा पुरिएर बन्दीपुरमा दुई र ऋषिङमा दुई जनाको मृत्यु भएको छ ।