तनहुँ : भर जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
आज असार २९ गते नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् ।
तर आफ्नै जन्मथलोमा भानुभक्त उपेक्षित छन् । भानु जयन्तीको अवसरमा उहाँको जन्मथलोमा खास विशेष कार्यक्रम हुँदैन । सामान्य कार्यक्रम गरेरै भानुजयन्ती मनाइँदै आएको छ । विगत वर्षदेखि त भानु जन्मस्थल विकास समिति नेतृत्वविहिन अवस्थामा पुगेको छ ।
भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा स्थानीयवासी खुशी छैनन् । भानुजयन्तीको दिन औपचारिकता निभाउने बाहेक यस ठाउँमा अन्य कुनै कार्यक्रम आयोजना भएका छैनन् ।
भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ । सरकारले भानु जन्मस्थलको विकासका लागि विसं २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन गरेपनि सरकार परिवर्तनसँगै समितिको नेतृत्व पनि परिवर्तन नहुँदा देखिनेगरी काम हुन नसकेको स्थानीयवासी रिदम आचार्यले बताउनुभयो । नजिकको तीर्थ हेला भने झै भानुभक्तको जन्मथलो उपेक्षामा परेको उहाँको गुनासो छ । “अहिले त अझ जन्मस्थल समितिविहिन अवस्थामा पुगेको छ, देश तथा विदेशमा भानुभक्तको चर्चा छ, तर आफ्नै जन्मथलोमा उपेक्षा बाहेक अरु केही छैन,” उहाँले भन्नुभयो ।
साहित्यिक पर्यटकीय विकासको सम्भावना बोकेको भानुभक्तको जन्मस्थललाई राजनीतिबाट टाढा राख्न सक्नुपर्ने स्थानीयवासी एवं भानु जन्मस्थल विकास समितिका पूर्व अध्यक्ष श्रीभक्त आचार्यले बताउनुभयो । “एउटा सरकार हुँदा गरेको निर्णय अर्को सरकार आएपछि प्रभावित हुन्छ, त्यही कारण आजसम्म यस ठाउँको विकास हुन सकेको छैन,” उहाँले भन्नुभयो ।
भानु जन्मस्थल विकास समितिका पूर्व कार्यकारी निर्देशक शङ्कर रानाभाटले गत वर्षदेखि जन्मस्थल विकास समितिलाई कुनै पनि बजेट विनियोजन नभएको जानकारी दिनुभयो । “पहिला सङ्घीय सरकार मातहत रहेको जन्मस्थ लगत वर्षदेखि स्थानीय सरकार मातहत राखियो, त्यसभन्दा अगाडी आउने बजेट पनि कर्मचारीलाई तलब खुवाउन मात्रै ठिक्क हुन्थ्यो, अहिले त झन् बजेट नै छैन,” उहाँले भन्नुभयो ।
उहाँले शुरुमा जति महत्वका साथ समिति गठन गरिएको थियो सरकारले चासो नदिएपछि समितिले काम गर्न नसकेको बताउनुभयो । “बजेट अभावले नै केही काम गर्न सकिएन, आएको थोरै बजेट कर्मचारीको तलबभत्तामै सकिन्छ, कर्मचारीले तलब बापतको रु ४५ लाख अझै पाएका छैनन्,” उहाँले भन्नुभयो ।
घर निर्माणले गति लिएन
भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नहुँदा वेवारिसे अवस्थामा पुगेको छ । पश्चिमाञ्चल विकास मञ्चले भानु गृहको पुनःनिर्माणका लागि शिलान्यास समेत गरेको थियो । विसं २०७३ साल चैत्र २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालिन मुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लिलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालिन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गर्नुभएको थियो ।
भानृ गृह करिब रु ६८ लाखको लागतमा निर्माण हुने भनिएपनि निर्माण कार्य शुरु नभएको भानु जन्मस्थल विकास समितिका पूर्व कार्यकारी निर्देशक रानाभाटले बताउनुभयो ।
विसं २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुर्ननिर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्न र उक्त ठाउँलाई भानुग्राम बनाउने उद्धेश्यले मञ्चले गुरुयोजना समेत बनाएको थियो । गुरुयोजना अनसार भानुभक्तको घर दुई तलाको हुनेछ । १० रोपनी क्षेत्रफलमा फैलिएको जग्ग्गाभित्र भानुभक्तको घर सहित पोखरी, फूलबारी, होमस्टे, धर्मशाला, संग्रहालय, भ्युटावर, चौतारी लगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्य छ ।