दमाैली : तनहुँको व्यास नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाकालाई प्रोत्साहन रकम सहित विदाई गरेको छ । ६० वर्ष उमेर पुगेका १४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम सहित विदाई गरिएको हो ।
नगरपालिकामा विसं २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत १४ जनालाई जनही रु ३५ हजार प्रोत्साहन रकम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाले पु¥याएको योगदान स्वरुप प्रोत्साहन रकमका लागि स्वास्थ्य कार्यालयले रु एक लाख उपलब्ध गराएको थियो भने बाँकी रु तीन लाख ९० हजार नगरपालिकाले उपलब्ध गराएको हो । विदाई भएका ठाउँमा नयाँ महिला स्वास्थ्य स्वयंसेविका छनौट गरिनेछ ।
व्यास नगरपालिकामा आज आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशी, व्यास ५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले दोसल्ला, प्रशंसापत्र र नगद सहित महिला स्वास्थ्य स्वयंसेविकालाई विदाई गर्नुभयो । सो अवसरमा नगरप्रमुख न्यौपानेले सरकारको नीतिका कारण स्वास्थ्य स्वयंसेविकालाई विदाई गर्नुपरेको बताउँदै सामाजिक र राजनीतिक काममा क्रियाशील हुन आग्रह गर्नुभयो ।
उपप्रमुख जोशीले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । वडाध्यक्ष एवं प्रवक्ता श्रेष्ठले सुविधा दिन नसकिएपनि निःशुल्क सेवा गर्न चाहेको खण्डमा नगरपालिकाले सदैव सहयोग गर्ने बताउनुभयो ।
अझै पनि सेवा गर्ने चाहना थियो
महिला स्वास्थ्य स्वयंसेविका माया गुरुङले विदाईको घडीमा दुःख लागेपनि रोएर नभई हाँसी हाँसी जाने बताउनुभयो । “सेवाको भावना सहित लामो समय काम ग¥र्यौ, अझै पनि सेवा गर्ने चाहना थियो, सरकारको नीति बमोजिम ६० वर्ष कटेपछि सेवाबाट अवकाश लिनैपर्ने बाध्या आयो,” उहाँले भन्नुभयो ।
व्यास नगर महिला स्वास्थ्य स्वयंसेविकाकी अध्यक्ष विष्णुमाया खनालले खाली हातबाट सेवाबाट विदाई हुनुपरेको बताउनुभयो । “जनप्रतिनिधि आएपछि केही सुविधा पाइन्छ की भन्ने आश थियो, तर नीति नै यस्तो आयो,” उहाँले भन्नुभयो । नगरपालिकाका हाल एक सय ५ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
विदाई हुनेमा व्यास १ निवासी कल्पना घर्ती क्षेत्री, व्यास २ निवासी शोभा पन्त, विष्णुमाया बुढाथोकी, व्यास ४ निवासी भगवती न्यौपाने, व्यास ५ निवासी गोमा खनाल, विष्णुमाया खनाल, व्यास ६ निवासी शान्तिशोभा न्यौपाने, व्यास ८ निवासी इच्छामाया पराजुली, व्यास ९ निवासी माया गुरुङ (क), व्यास ११ निवासी हुमा राना, व्यास ११ निवासी विष्णुकुमारी श्रेष्ठ, व्यास १३ निवासी नन्दकुमारी आले र व्यास १४ निवासी कालीमाया थापा रहनुभएको छ ।