बालबालिकाको अवस्था सम्बन्धि वस्तुगत विवरण तयार गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालबालिकाको अवस्था सम्बन्धि वस्तुगत विवरण तयार गरिने

    खबरपुञ्ज संवाददाता

    २९ असार २०७८, बुधबार

    तनहुँ : जिल्लाका सबै स्थानीय तहले बालबालिकाको अवस्था सम्बन्धी वस्तुगत विवरण (प्रोफाइल) तयार गर्ने भएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न शैक्षिक परामर्श गोष्ठिले उक्त निर्णय गरेको हो ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मन्त्रीस्तर) को गत असार २७ गते स्वीकृत भएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ को परिच्छेद ४ दफा ७ को लक्ष्य अनुसार २०८७ सालसम्म नेपालका सबै स्थानीय तहलाई बालमैत्री बनाउने निर्णय गरिएको छ । त्यसका लागि जिल्लाका सबै स्थानीय तहहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ को सुचकाङ्कमा आधारित भई गाउँपालिका/नगरपालिकामा बालबालिकाको अवस्था सम्बन्धि विवरण तयार गर्ने निर्णय भएको समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

    सबै पालिकाहरुले आफ्नो पालिकाको शैक्षिक सूचक समावेश गरी प्रोफाईल तयार गर्ने, गाउँ/नगर शिक्षा योजना निर्माण गर्न बॉकी रहेका पालिकाहरुले यसै आर्थिक वर्षमा उक्त योजना निर्माण गर्ने, गाउँ/नगर शिक्षा समिति गठन/पूर्णता दिन बॉकी रहेका पालिकाहरुले अविलम्ब यसको गठन/पूर्णता प्रदान गरि समितिलाई क्रियाशील बनाई शैक्षिक निर्णय र गतिविधिलाई प्रभावकारी बनाउने निर्णय भएको गुरुङले बताउनुभयो ।

    संघ, प्रदेश, पालिका र वडाको शिक्षा सम्बन्धि कार्यक्रम र बजेटको कार्यान्वयन गर्दा गराउँदा एकरुपता हुने गरि कार्यविधि वा निर्देशिका तर्जुमा गर्ने, पालिका भित्र शिक्षा क्षेत्रमा हुने सबै खर्च/बजेट/कार्यप्रगती(संघ, प्रदेश, पालिका, वडा र गैसस आदि)हरुको एकीकृत अभिलेख पालिकाको शिक्षा शाखामा रहने व्यबस्था मिलाउन आवश्यक कार्यविधि वा निर्देशिका तर्जमा गर्ने निर्णय समेत भएको छ ।

    सबै पालिकाले नमूना विद्यालयको कार्यविधि तर्जमा गरि त्यसका सूचकको आधारमा प्रत्येक वडामा प्रत्येक वर्ष नमुना बिधालयहरुको संख्या वृद्धि गर्दै जाने नीति तथा कार्यक्रम बनाउने, संस्थागत एवं सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने, वस्तुगत सुचकहरु निर्माण गरि उत्कृष्ट विद्यालयलाई वार्षिक रूपमा पुरस्कृत गर्दै जाने, विद्यालयहरुको समग्र शैक्षिक क्रियाकलाप र कार्यहरूको अनुगमन कार्यलाई अझ नियमित र प्रभावकारी बनाउदै जाने निर्णय भएको छ ।

    बैठकमा समन्वय समितिका उपप्रमुख पवित्रादेवी पौडेल, समन्वय अधिकारी प्रेमराज गिरी, सबै पालिकाका शिक्षा शाखा प्रमुखको सहभागिता थियो ।