* १ अर्ब २८ करोड ४९ लाख २९ हजार १ सय रुपैयाँको बजेट पारित
* पूर्वाधार विकासलाई प्राथमिकताका साथ बजेट विनियोजन
दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । नवौ नगरसभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेट बिहीबार पारित भएको हो ।
चालु आर्थिक वर्षका लागि शुक्लागण्डकीले १ अर्ब २८ करोड ४९ लाख २९ हजार १ सय रुपैयाँको बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ५ करोड ९९ लाख ४२ हजार ९ सय १४ रुपैयाँले बढी बजेट ल्याईएको हो । अघिल्लो बर्ष १ अर्ब २२ करोड ४९ लाख ८६ हजार १ सय ८६ रुपैयाँको बजेट सार्वजनिक भएको थियो ।
चालु वर्षमा सबैभन्दा बढी बजेट पूर्वाधारा विकासलाई विनियोजन भएको छ । नगर उपप्रमुख सविता रसाईलीले नगरसभामा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासलाई मात्र १७ करोड रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकासमा विनियोजन भएको रकम गत वर्षको तुलनामा कम रहेको छ । गत वर्ष पूर्वाधार विकास शिर्षकमा २० करोड ९४ लाख रुपैयाँ विनियोजन भएको थियो ।
सामाजिक विकासतर्फ ८ करोड ३० लाख ४ हजार १ सय रुपैयाँ बजेट छुट्याएको रसाईलीले बताउनुभयो ।
आर्थिक विकासमा २ करोड ७५ लाख ३५ हजार रुपैयाँ, वातावरण तथा विपद्मा २ करोड ४२ लाख ५० हजार रुपैयाँ, सुशासन तथा संस्थागत बिकासमा १ करोड ३६ लाख रुपैयाँ, चालु पुँजीगतमा १२ करोड ३६ लाख रुपैयाँ, प्रदेश समपुरकमा २ करोड रुपैयाँ, वडागत सिलिङमा १० करोड ८७ लाख रुपैयाँ, क्रमागत अल्या योजनामा ९ करोड ३४ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गरिबसंग विश्वेश्वर कार्यक्रमका लागि ५ लाख, सशर्त अनुदानमा ३८ करोड ४३ लाख रुपैयाँ, सडक बोर्डमा ६० लाख रुपैयाँ, जनसहभागिताका लागि ५ करोड रुपैयाँ र सामाजिक सुरक्षा शिर्षकमा १८ करोड रुपैयाँ विनियोजन भएको उपप्रमुख रसाईलीले जानकारी दिनुभयो ।
आम्दानीतर्फ संघ सरकारको समानिकरण अनुदानमा १५ करोड ४७ लाख रुपैयाँ, राजस्व बाँडफाँडमा १० करोड ३९ लाख २३ हजार रुपैयाँ, शशर्त अनुदानमा ३८ करोड ४३ लाख रुपैयाँ, प्रदेश सरकारको समानिकरण अनुदानमा १ करोड ८८ लाख ३८ हजार रुपैयाँ, राजस्व बाँडफाडमा १ करोड ३७ लाख १९ हजार रुपैयाँ, समपुरक अनुदानमा २ करोड रुपैयाँ अनुमान गरिएको छ ।
यस्तै, आन्तरिक आम्दानी १९ करोड ९१ लाख ५९ हजार १ सय रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । अल्या ४ करोड रुपैयाँ, सामाजिक सुरक्षा भत्ता १८ करोड रुपैयाँ, क्रमागत अल्या गरिएको योजना ९ करोड ३४ लाख ४० हजार रुपैयाँ, सडकबोर्ड ६० लाख रुपैयाँ, घरजग्गा रजिष्ट्रेशन शुल्क २ करोड रुपैयाँ, वनबाट ३ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । पक्की नाल, कालोपत्रे, कल्भर्ट निर्माणमा जनसहभागिताबाट ५ करोड आम्दानी हुने जनाईएको छ ।
गत असार १० गते सुरु भएको नवौ नगरसभा शोक प्रस्ताव पारित गरेर स्थगति भएको थियो । संवैधानिक व्यवस्था अनुसार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि डाकिएको नगरसभा वडा नम्बर ६ का वडा सदस्य श्रीबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै नगरसभा स्थगित भएको थियो । नगरसभामा प्रस्तुत नगरिएपनि नगरसभा सदस्यलाई बजेट, नीति तथा कार्यक्रमको प्रति उपलब्ध गराई सार्वजनिक गरिएको थियो ।
बजेट, नीति तथा कार्यक्रमको अध्ययन गरी नगरसभा सदस्यले बिहीबार सुझाव दिएका थिए । बिहीबार नै पारित गरेको नगर प्रमुख किसान गुरुङले जानकारी दिनुभयो ।
नगरसभामा प्रमुख गुरुङले पेश गरेको स्थानीय तह कर्मचारी व्यवस्थापन ऐन, न्यायिक समितिको कार्यविधि व्यवस्थित गर्ने ऐन र अनुगमन समिति सञ्चालन कार्यविधि ऐन सर्वसम्मत पारित भएको नगरप्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । कोभिड नियन्त्रणमा खटिएको फ्रन्टलाईनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने नीति समेत पारित भएको कुमालले बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम, कृषि, पर्यटन, पूर्वाधार, कोरोना नियन्त्रणलाई मध्यजनर गरेर बनाएका छन् ।