तनहुँ : साउने सङ्क्रान्ति शुरु भएसँगै महिलामा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ । यही प्रचलनलाई निरन्तरता दिन व्यास-३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले सहकारीमै शुक्रबार मेहेन्दी कार्यक्रम आयोजना गरेको छ ।
सहकारीको महिला उपसमितिले आयोजना गरेको उक्त कार्यक्रमको शुभारम्भ गर्दै व्यास-३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले सहकारीले बचतका अलावा सामाजिक काम समेत गर्नुपर्ने र त्यसमा व्यास सहकारी उदाहरण बनेको उल्लेख गर्नुभयो ।
सहकारीका अध्यक्ष प्रदीपराज अधिकारीले संस्कृति संरक्षण गर्ने उद्धेश्य सहित कार्यक्रम गरिएको बताउनुभयो । महिला उपसमिति संयोजक बेलु श्रेष्ठले कोभिड-१९ का कारण सोचेझै कार्यक्रम गर्न नसकिएको बताउनुभयो । कार्यक्रम संयोजक योगिता श्रेष्ठले मेहेन्दी कार्यक्रमका लागि शेयर सदस्य लगायत गैरसदस्य महिलालाई पनि निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।