गण्डकीमा मन्त्रिपरिषद विस्तार,१२ मन्त्री हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा मन्त्रिपरिषद विस्तार,१२ मन्त्री हुने

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७८, शुक्रबार

    पाेखरा : बजेट पारित गरिसकेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अब मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । १ असारमा पोखरेलले ल्याएको बजेट बुधबार गण्डकी प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।बजेट पारित नहुँदासम्म पोखरेल पर्ख र हेरको मनस्थितिमा थिए ।

    पोखरेलको पार्टी नेपाली कांग्रेससँग् सत्ता साझेदार दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग भागबन्डामा कुरा मिलाउन पनि बाँकी थियो । बजेट पारित नभए सरकार ढल्न सक्ने हुँदा पहिला सरकार जोगाएर पोखरेल मन्त्रिपरिषदलाई पूर्णता दिन चाहन्थे । अब त्यो खड्को टरेको छ ।

    ‘आज पनि एकचरणको बैठक बस्यो हाम्रो,’ सरकारका प्रवक्तासमेत रहका सामाजिक विकास मन्त्री कुमार खड्काले भने, ‘छलफल गरेर पर्सि फेरि एउटा बैठक बसेर छिटोभन्दा छिटो टुंग्याउने भन्ने मनस्थितिमा मुख्यमन्त्रीज्यू हुनुहुन्छ । धेरै कुरा मिल्या छ, एउटा कुरा सानो कुरा टुंगिनेबित्तिकै सबै कुरा टुंगिन्छ ।’ उनले साउनको पहिला साताभित्र मन्त्रिपरिषद पूर्णतालाई टुंग्याइने बताए ।

    मन्त्रिपरिषद १२ सदस्यीय बन्ने जानकारी पनि मन्त्री खड्काले दिए । नेपालको संविधानले प्रदेश सभाका २० प्रतिशत सदस्यलाई मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय हो । त्यस हिसाबले १२ जना मन्त्री बनाउन मिल्छ । यसअघि एमाले नेता पृथ्वीसुब्बा गुरुङले सुरुमा ७ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । पछि उनले मन्त्रालय फुटाएर ११ वटा मन्त्रालय बनाए । तर कार्यकालको अन्तिमतिर स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाउनुबाहेक ११ जना नै पु¥याएनन् ।

    अहिले पोखरेल नेतृत्व मन्त्रिपरिषदमा केवल ५ सदस्य छन् । मुख्यमन्त्री पोखरेलले जेठ २९ मा सपथ लिँदा कांग्रेसबाट कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारी, जसपाका हरिशरण आचार्य एवं स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीको सपथ गराएका थिए । १३ असारमा मात्रै खड्कालाई सामाजिक र अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएका थिए । आचार्यले ऊर्जा तथा सिँचाइ र गुरुङले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका थिए ।