दमाैली : नेपाली चार युवाले शैक्षिक उपग्रह किट निर्माण गरेका छन् । विद्यार्थीलाई उपग्रहका बारेमा बुझाउने मुख्य उद्देश्य सहित चार युवा वैज्ञानिकले ‘सस्तोक्युव’ नामक शैक्षिक उपग्रह किट तयार पारेका हुन् ।
गत पुस १ गतेदेखि निर्माण थालिएको उक्त सस्तोक्युव उपग्रह किट ६ महिनाको अवधिमा तयार भएको छ । युवा वैज्ञानिकहरु तनहुँ निवासी विकल्प ढुङ्गाना सहित जनार्दन सिलवाल, देवराज पन्त र सागर कोइरालाले उक्त किट तयार पारेका हुन् ।
उक्त किटमा ९ वटा बोर्ड, चार ठाउँमा सोलार प्यानल जडान गरिएको युवा वैज्ञानिक ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार यसमा चार किसिमका सेन्सर जडान गरिएका छन् । पहिलो सेन्सरले करेन्ट, दोस्रोले तापक्रम र आद्ररता, तेस्रोले जिपिएस र चौथोले एक्सेलोमिटर (गति) को बारेमा जानकारी दिनेछ । “स्याटेलाइटमा हुनुपर्ने सबै कुरामा यसमा छ, कुनै ठाउँमा के कुरा कलेक्ट गर्नुपर्ने हो यसले सबै गर्न सक्छ,” उहाँले भन्नुभयो, “यसको क्षमता दूरी दुई सय मिटर छ ।”
यो किट निर्माणका लागि रु ७५ हजार खर्च भएको छ । खर्चको सहयोग युनेस्को नेपालले गरेको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालको सहयोगमा आविष्कार केन्द्रमा यसको आविष्कार गरिएको हो । “यसलाई नेपाली बजारमा लैजाने सोच छ, स्याटेलाइट कसरी काम गर्छ भन्ने बुझाउनु यसको मुख्य उद्देश्य रहनेछ,” ढुङ्गानाले भन्नुभयो । हाल दश वटा किट बनाइएको उहाँले जानकारी दिनुभयो ।
उक्त किट तयार भएपछि खोटाङको एक विद्यालयमा पुगेर यसबारेमा विद्यार्थीलाई बुझाउने प्रयास समेत गरिएको छ । सस्तोक्युवलाई ‘कक्षा कक्षामा स्याटेलाइट’ नारा दिइएको छ ।
तनहुँको दमौली घर हुनुभएका विकल्पले यसअगाडी सोलार स्कुटर, हेलिकप्टर टेक्नोलोजी, धुपबाल्दा घण्टी बज्ने उपकरण, ट्राफिक मास्क, बम डिस्पोजल रोबोट, अर्थ क्वाएक अलाम, म्यानुअल लिफ्टिङ रोबोट, ग्रास कटर मेसिन, पुलिस रोबोट लगायतका उपकरण आविष्कार गरिसक्नुभएको छ ।
अनि शुरु भयो उपग्रह बनाउने सोच…
यो शैक्षिक उपग्रह किट बनाउने सोच नेपाली वैज्ञानिक डा. आभाष मास्केको हो । उहाँको सोचमा आधारित रहेर किट बनाइएको छ । मास्केले नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याट–१’ निर्माण गर्नुभएको थियो । उक्त भूउपग्र दुई वर्ष अगाडी पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।
मास्के नेपाल आएको बेला मेलम्चीको एक विद्यालयमा पुग्नुभयो । त्यहाँ पुगेर उहाँले विद्यार्थीलाई भविष्यमा के बन्ने भनेर सोध्नुभयो । अधिकांश विद्यार्थीको जवाफ थियो – चालक बन्ने । उक्त जवाफले मास्केलाई अचम्मित बनायो । आफ्नो वातावरण वरपर बालबालिकाले जे देखेका छन्, त्यहीँ सपना उनीहरुमा रहेको अनभूति मास्केले गर्नुभयो ।
त्यसपछि शुरु भयो सपनाको श्रृङ्खला । त्यसपछि उहाँले विद्यार्थीका लागि लक्षित गरी उपग्रह बनाउने सोच्न थाल्नुभयो । “एउटा कुरा बनाउँ जुन उपग्रह जस्तो देखिन्छ, त्यो विद्यार्थीका लागि लक्षित होस्,” मास्केको सोचबारे जानकारी दिँदै युवा वैज्ञानिक ढुङ्गानाले भन्नुभयो, “त्यसपछि उहाँकै सोचमा आधारित रहेर हामीले शैक्षिक उपग्रह किट बनाउन शुरु ग¥र्यौ ।”