काठमाडौं : जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउँदै देउवा परमादेशबाटै प्रधानमन्त्री भएको दाबी गरेका छन् । केपी शर्मा ओली सरकारमा सहभागि भएको जसपाको ठाकुर पक्षले आज निसर्त देउवालाई विश्वासको मत दिएको हो ।
“हामी देउवालाई विश्वासको् मत दिने निर्णय गरेका छौँ, तर, उहाँ जनमतले होइन, परमादेशले नै प्रधानमन्त्री बन्नुभएको हो,” ठाकुरले भने, “तर, उहाँले निसंकोच पत्र पठाउनुभएको छ, हामीले समर्थन दिने निर्णय गरेका छौँ ।”
उनले संविधानमा त्रुटि रहेका भन्दै संविधानका तिनै त्रुटिले जनता उत्पिडित र प्रताडित हुनुपरेको बताए । अहिले पनि मधेसका धेरै नागरिकले नागरिकता नपाएको भन्दै नागरिकताको निर्धारण अदालतले गरिदिने हो भन्दै प्रश्न उठाए ।
“देशको नागरिक, जसको नागरिकता छैन, तिनिहरूको राष्ट्रियता अदालतले भनिदिने हो ?,” ठाकुरले प्रश्न गरे, “लाखौँ नागरिक नागरिकता विहीन छन् । आफ्नै देशमा उत्पिडित र प्रताडित हुनुपरेको छ, ती नागरिकलाई यो संविधानले रक्षा गरेको छ ?” उनले तिनै कारण देखाउँदै संविधानमा त्रुटि रहेको पुष्टि गर्ने प्रयास गरे ।
तर, संविधानमा अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने स्पष्ट व्यवस्था गरेको छ । त्यही संविधान अनुसारको व्यवस्था राखेर तयार भएको नागरिकता विधेयक प्रधानमन्त्री ओली पक्षीय सांसदको अपरोध र एमालेका अनिर्णयका कारण संसदमै एक वर्ष भन्दा बढी अल्झिएको छ । संसदमा विचाराधीन विधेक रोकेरै तात्कालिन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि जसपालाई सत्ता गठबन्धनमा ल्याउन अध्यादेश जारी गरेका थिए ।
अध्यादेशविरुद्ध परेका रिटको सुनुवाई गर्दै संसद छलेरे राजनीतिक लाभका निम्ति अध्यादेश जारी हुन नहुने भन्दै सर्वोच्चले खारेज गरिदिएको थियो । ठाकुरले त्यही विषयमा संसदमा सर्वोच्चमाथि प्रश्न उठाएका हुन् ।