म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकामा जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । गाउँपालिका अन्तर्गत प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाबाट साउन ७ गतेदेखि ९ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप अभियान सञ्चालन गरिने भएको छ ।
कोरोना जोखिम न्यूनीकरणका लागि भ्याक्सिन उपलब्धताका आधारमा गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको थियो । अमेरिकी सरकारले हालै उपलब्ध गराएको उक्त खोप एक डोज मात्रै लगाए हुन्छ ।
कसले पाउँछन् ?
५० देखि ५४ वर्ष उमेर समूहका कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकलाई खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै पूर्ण र अति अशक्त अपाङ्गता भएका (क र ख वर्ग) नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई उक्त खोप लगाइनेछ ।