पोखरा : पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुंगा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुंगा व्यवसाय सोमवारदेखि सञ्चालनमा आएपछि डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका मजदुर खुशी भएका छन् ।
निषेधाज्ञाका कारण घरमै बसेका उनीहरूमा पुनः व्यवसाय शुरू भएपछि उत्साह छाएको छ । फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले प्रशासनसँग समन्वय गरेर डुंगा व्यवसाय शुरू गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए ।
भीडभाड हुन नदिन २० फुटे डुंगामा ४ र १८ फुटेमा ३ जना राखेर सञ्चालन गरिएको उनले जानकारी दिए । यसअघि ८/९ जनासम्म राख्ने गरिएको थियो । उनले भने, ‘यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक ८ देखि ९ डुंगा मात्र सञ्चालमा छन्, फेवातालमा डुंगा शुरू भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदुरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौं ।’
तालमा डुंगा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरति समेत अहिले बन्द छ । डुंगा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ ।
फेवातालमा ७६४ डुंगा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुंगा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।
फेवातलामा ९ वर्षदेखि डुंगा चलाउदै आएका पोखरा महानगरपालिका–१८ सराङकोटका मजदुर लक्ष्मण परियारले निषेधाज्ञाका कारण आफूहरू समस्यामा परेको र व्यवसाय शुरू भएपछि उत्साहित भएको बताए ।