दुलेगाैडा : पहाडको टुप्पोबाट उन्मक्त पानीको फोहोरा सुसेल्दै बेग्र गतिमा झर्छ । हावाको झोक्काले पानीको फोहोरालाई उडाएर आकारमा घटबढ ल्याउदाको दृश्य रोमाञ्चक देखिन्छ । सुनसान खोँचमा झरनाको सुन्दरता नियाल्न पुग्नेको भिड हुन्छ । तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेको तछाँडमछाड देखिन्छ ।
निषेधाज्ञाको अवज्ञा गर्दै पुग्ने घुमन्तेको कमी छैन । कहिलेकाँही प्रहरीले नै भिडलाई तितरवितर पार्नुपर्ने स्थिति पनि सिर्जना हुन्छ । म्याग्दे गाउँपालिका–५ थाङ्दीस्थित थाङ्दी झरना पछिल्लो समय पर्यटकलाई लोभ्याउन सफल भएको हो । कान्छी वाराही मन्दिरसँगै रहेको झरना आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । झरनाको दृश्य नियाल्न र चिसो पानीमा डुबुल्की मार्न आउने आन्तरिक पर्यटकको ओईरो लाग्दछ ।
तीन वर्षदेखि चर्चामा आएको झरनामा यो वर्ष झनै पर्यटक वृद्धि भएको स्थानीय अमृता भट्टराई बताउँछिन् । पर्यटक बढ्नुको श्रेय उनी सामाजिक सञ्जाललाई दिन्छिन् । उनी भन्छिन्, ‘टिकटकले त भाईरल नै बनायो । जो आउँछन् टिकटकमा भिडियो बनाएर हाल्छन् । फेसबुकमा फोटो राख्छन् । झरना राम्रो छ । टिकटक, फेसबुकमा हेर्ने जो कोहीलाई पनि लोभ्याउँछ । र उनीहरु पनि घुम्न आउने क्रम बढ्दो छ ।’
शनिबार झरनामा आउने पर्यटकको भिडभाड हुने उनले उल्लेख गरिन् । उनका अनुसार तनहुँका विभिन्न स्थानबाट पर्यटक झरनामा घुम्न आउँछन् । छिमेकी जिल्लाबाट आउनेको संख्या पनि कम छैन । युवायुवतीको बढी आउने भट्टराईले बताइन् । झरना क्षेत्रमा वनभोजस्थल, दृश्यावलोकन विन्दु, वाटरफल बनाएमा अझै पर्यटक बढ्ने उनको भनाई छ ।
जनप्रतिनिधि आएपछि झरनाको विकासमा चासो दिएको वडाध्यक्ष शिवबहादुर आले बताउँछन् । ‘झरना पहिल्यैदेखि नै हो । कसैको चासो नहुँदा ओझेलमा थियो । हामी जनप्रतिनिधि आएपछि चर्चामा आएको छ,’ उनले दावी गरे ।
झरनामा आउने पर्यटकको सुविधाका लागी गाउँपालिकाको लगानीमा प्रतिक्षालय, माछापोखरी, पदमार्ग निर्माणसँगै खानेपानीको व्यवस्थापन गरेको उनले जनाए । पदमार्गमा भने यही असारमा आएको बाढीले क्षति पु¥याएको छ । कान्छी वाराही मन्दिर र झरनाको वृहत्तर विकासका लागि गुरुयोजना बनाएको वडाध्यक्ष आलेले बताए । ‘असाध्यै आकर्षक गन्तव्य बनाउने गरी डिपिआर बनेको छ । डिपिआर अनुसार पूर्वाधार थप्न प्रदेश सरकारसँग योजना माग्नेछौँ,’, उनले भने ।
गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले गाउँपालिकाको पर्यटकीय गन्तव्यको रुपमा विकास भएको यस ठाउँको विकासका लागि आफूहरु प्रतिबद्ध रहेको बताइन् ।
पृथ्वीराजमार्गको खैरेनीटार बजारबाट ४ किलोमिटरको यात्रामा थाङ्दी झरनामा पुगिन्छ । झरनाको खोँचसम्म नै दुई पाङ्ग्रे सवारी साधानमा पुग्न सकिन्छ । चार पाङ्ग्रे सवारीमा जानेहरु भने झरनासम्म पुग्न पाँच मिनेटको पैदलयात्रा गर्नुपर्छ ।