दूधमा अनुदान सहयोगले बन्दिपुरका कृषक उत्साहित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    दूधमा अनुदान सहयोगले बन्दिपुरका कृषक उत्साहित

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७८, आईतवार

    बन्दिपुर: तनहुँको बन्दिपुर गाउँपालिकाले दूध उत्पादनमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेपछि यहाँका कृषक पशुपालनमा आकर्षित भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०७६÷७७ देखि उत्पादनका आधारमा दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् ।

    सहकारीमार्फत् दूध विक्री गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रति लिटर रु एक अनुदान दिइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । “गत वर्षदेखि शुरु भएको अनुदान दिने कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिन्छौ, यसले कृषकलाई पशुपालनतर्फ आकर्षित गर्न सहयोग पु¥याएको छ,” थापाले भन्नुभयो, “साथै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन पनि मद्दत पुग्छ ।”

    बन्दिपुर गाउँपालिका–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी र बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले उत्पादनका आधारमा अनुदान रकम पाउँदै आएका छन् । सहकारीमार्फत् दूध विक्री गर्ने कृषकलाई उत्पादनका आधारमा रु एकका दरले अनुदान दिने गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख मधुविलास न्यौपानेले जानकारी दिनुभयो ।

    गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा उक्त कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट कृषकलाई अनुदान रकम वितरण शुरु गरिएको छ । सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध विक्री गर्ने ६१ जना कृषकलाई शनिबार अनुदान रकम वितरण गरिएको न्यौपानेले बताउनुभयो ।

    ती कृषकलाई रु एक लाख ६० हजार वितरण गरिएको छ । सबैभन्दा बढी भोजनाथ पराजुलीले रु २६ हजार अनुदान पाउनुभएको छ । “सबैभन्दा कम रु पाँच हजारदेखि बढीमा रु २६ हजारसम्म उत्पादनका आधारमा कृषकले रकम पाउनुभएको छ,” न्यौपानेले भन्नुभयो, “कृषक हर्षित र उत्साहित छन् ।”

    उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यस वर्ष दूध उत्पादनमा वृद्धि आएको छ । दूधमा अनुदान पाउनुभएका कृषक पराजुलीले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने कृषकलाई सहयोग पुगेको बताउनुभयो ।

    गाउँपालिकाले याम्पास्थित दुग्ध उत्पादक सहकारी संस्थाका कृषकलाई रु ९ लाख ५२ हजार वितरण गर्नेछ । याम्पाका कृषक काशीनाथ भट्टराईले दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई प्रोत्साहन मिल्ने बताउनुभयो । “दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई पशुपालनमा लागिरहन प्रेरणा मिल्छ,” उहाँले भन्नुभयो ।

    भकारो सुधारका लागि अनुदान

    यसैगरी भकारो सुधारका लागि १९ जना कृषकलाई रु दुई लाख ५२ हजार वितरण गरिएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् १९ कृषकलाई प्रति पशु रु चार हजार आठ सयका दरले अनुदान वितरण गरिएको छ ।

    सबैभन्दा बढी पाउनेले रु १९ हजार दुई सय र कम पाउनेले रु ९ हजार ६ सय बुझेका छन् । गाउँपालिकाभित्रका चार वटा समूहमा आबद्ध भएका कृषकलाई भकारो सुधारका लागि अनुदान दिइएको छ । यस्तै गाउँपालिकाले गाईभैसी, कुखुरा, खरायोपालक ६४ जना कृषकलाई पनि अनुदान रकम वितरण गरेको छ ।

    बाख्रा पकेट क्षेत्र विकासका लागि बन्दीपुर गाउँपालिका–१ का कृषकलाई गाउँपालिकाले घाँसको बिरुवा र खोर सुधारका लागि सहयोग गर्दै आएको छ । उक्त वडालाई पाँच वर्षमा बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो ।