आँबुखैरेनी : स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँका सिंहदरवारका भवन निर्माणले प्राथमिकता पाएका छन् । भवन नहुँदा भाडामा वा सामुदायिक भवनबाट सेवा प्रवाह गर्दै आएका तनहुँका स्थानीय तहका वडामा यतिबेला धमाधम आफ्नै भवन निर्माण सम्पन्न भइरहेको छ ।
गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई वटा भवनको उद्घाटन गरेको छ । गाउँपालिकाले शुक्रबार मात्रै वडा नम्बर ५ सानुभञ्ज्याङमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन गरेको छ ।
भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले वडालाई पूर्वाधारयुक्त बनाउने उद्देश्य सहित भवन निर्माणलाई प्राथमिकता दिइएको बताए । आफ्नै भवन भएपछि सर्वसाधारणलाई सहज र सरल रुपमा सेवाप्रवाहमा सहयोग पुग्ने थापाको भनाई थियो ।
रु ६३ लाख ८६ हजार पाँच सय २६ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माणको ठेक्का बिएम कन्स्ट्रक्सन प्रालि नुवाकोटले पाएको थियो । विसं २०७५ चैत १० गते सम्झौता भएर विसं २०७६ चैत २ गते सम्पन्न भएपनि डेढ वर्षपछि भवनको उद्घाटन गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । “भवन निर्माण सम्पन्न भएपनि गाउँपालिकाले पालिकाकै भवनबाट सेवा प्रवाह गर्दै आएको थियो, अब भने नवनिर्मित भवनबाटै सेवा प्रवाह हुनेछ,” पोख्रेलले भने ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि वडा नम्बर १, ४ र ५ को भवन निर्माण सम्पन्न भएको छ । वडा नम्बर २ र ३ ले सामुदायिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् । यद्यपि उक्त भवनको भाडा भने तिर्नुपर्दैन । चालु आर्थिक वर्षमा वडा नम्बर २ र ६ को भवन निर्माण शुरु गरिने पोख्रेलले जानकारी दिए ।
आँबुखैरेनी-५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, विभिन्न वडाका अध्यक्ष लगायतकाे सहभागिता थियाे ।