


आँबुखैरेनी : कवि अनिल श्रेष्ठको छैटौँ कवितासङ्ग्रह मध्यरातमा मुर्कट्टा बिहीबार आँबुखैरेनीमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । आँबुखैरेनी स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि प्रमोद प्रधान, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्य लगायतले उक्त सार्वजनिक गरेका हुन् । सङ्ग्रहमा ३५ कविता छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रमोद प्रधानले नेपाली कविताका क्षेत्रका क्रान्तिचेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्ने कविको रूपमा अनिल श्रेष्ठको योगदान महत्वपूर्ण रहेको बताए । उनले भने, “पछिल्लो समयमा धेरै प्रगतिवादी कविहरू पद, पैसा र पहुँचको सत्तासुखमा रमाएर चुप लागेको बेला अनिल श्रेष्ठ भने प्रतिपक्षको रूपमा अभैm सशक्त भएर प्रस्तुत भएका छन् ।”
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँपालिकामा संस्थाबाट भइरहेका साहित्यिक सक्रियताको प्रशंसा गर्दै छिम्कालेकमा एक साहित्यिक कार्यक्रम गर्ने घोषणा गरे ।
सो अवसरमा समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठका कविताहरू आकारमा छोटा भए पनि त्यसले दिने विचार गम्भीर र अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनका कविताबारे जति पनि व्याख्या र विश्लेषण गर्न सकिने उनकाे भनाइ थियो ।
अर्का समीक्षक भीम रानाभाटले पनि अनिल श्रेष्ठका कविता विषय, भाव, शैली र कलाका दृष्टिकोणबाट अब्बल भएको धारणा राखे । कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार एवं कवि सानुकाजी थापाले स्वागत मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष एवं कृतिकार कवि अनिल श्रेष्ठले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै आफ्नाे एक कविता वाचन गरेका थिए । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।