व्यास नपामा घरनक्साको काम अनलाइनबाट शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नपामा घरनक्साको काम अनलाइनबाट शुरु

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७८, मंगलवार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले घरनक्सा पासको सम्पूर्ण कार्य अनलाइनबाट गर्न शुरु गरेको छ । नगरवासीलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उद्देश्य सहित नगरपालिकाले घरनक्सा पासको काम अनलाइनबाट शुरु गरेको हो ।

    त्यसका लागि नगरपालिकाले अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरेको नगरपालिकाका घरनक्सा शाखा प्रमुख इन्जियिनर अमृत केसीले जानकारी दिए । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले घरनक्सा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको छ । नगरपालिकाले विसं २०४९ सालदेखि घरनक्सा पासको काम गर्दै आएकामा पहिलो पटकदेखि अनलाइनबाट शुभारम्भ गरेको केसीले बताए ।

    “एकवर्षसम्म डिजिटल र हार्डकपी दुवैबाट काम गर्छौ र त्यसपछि सम्पूर्ण काम अनलाइनबाट मात्र हुन्छ,” केसीले भने, “त्यसबीचमा सबै तथ्याङ्क डिजिटलीकरण गर्छौ ।” उहाँका अनुसार व्यास नगरपालिकाभित्र आठ हजार पाँच सय घर नक्सापास गरेर निर्माण गरिएको छ ।

    नगरपालिकामा प्रत्येक वर्ष सातको सङ्ख्यामा भवनहरु निर्माण भइरहेका छन् । घरधनीहरु भवन निर्माण गर्न अनुमति प्रक्रियाका लागि पटक पटक नगरपालिकाको कार्यालयमा जानुपर्ने बाध्यताको अन्त्य गर्न अनलाइनबाटै अनुमति प्रक्रियाको काम शुभारम्भ गरिएको नगरपालिकाका वरिष्ठ इन्जिनियर रवीन्द्रलाल मूलले जानकारी दिए । “अहिलेसम्म यहाँ निर्माण गरिएको भवनहरुको डिजिटल डाटावेशको कुनै संयन्त्र छैन, अर्कोतर्फ भवन निर्माणको अनुगमन र भविष्यको योजनाका लागि भवनको तथ्याङ्क राख्ने व्यवस्था भएको छैन,” उनले भने।

    नगरपालिकाका लागि प्रभावकारी र सहज रुपमा नक्सापास प्रक्रिया प्रणालीको विकास गर्न जरुरी देखिएकाले घरनक्साको माध्यमद्वारा घरधनीलाई सहज प्रणाली, ग्राहक सेवा वृद्धि र भवन निर्माणको तथ्याङ्क सुरक्षित भण्डारणको अवधारणा ल्याइएको हो ।

    अनलाइनबाट भवन निर्माण अनुमति आवेदनको व्यवस्थापन, नक्सापास प्रक्रिया कागजातहरुको सहज भण्डारण, नक्सापास प्रक्रियाको सहज अनुगमन, भवन संहिता तथा भवन मापदण्डमा भएका प्रावधानहरुको अनुपालन जाँचमा सहजता आउने विश्वास लिइएको छ । व्यास डट घरनक्सा नेपाल डटकमबाट यसको सेवा लिन सकिन्छ ।

    भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका इन्जिनियर सन्तोष खड्काका अनुसार अनलाइनबाट घरधनीले नक्सापासको प्रक्रियाका बारेमा सहजै जानकारी पाउनेछन् । “घरधनीले आफ्नो कामको प्रगति कहाँसम्म पुगेको छ भन्ने बारेमा पनि यही अनलाइनबाट जानकारी लिन सक्छन्,” उनले भने, “सम्बन्धित व्यक्तिको विवरण हालेपछि समग्र जानकारी आउँछ ।”

    घरनक्साको अनलाइन सेवाको सोमबार शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले लामो प्रक्रियाका कारण सेवाग्राहीले सास्ती भोग्दै आएकामा अब अनलाइनबाट काम हुने भएपछि सहज रुपमा सेवा लिन पाउने बताए । व्यास नगरपालिकाले राजश्व सङ्कलनको काम पनि अब अनलाइनबाट गर्नुपर्नेमा उनले सुझाव दिए ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राहीमैत्री नगरपालिका बनाउने सोचका साथ घरनक्साको काम अनलाइनबाट शुरु गरिएको बताए ।