प्रहरी दिवसमा अमर प्रहरीका परिवारलाई सम्मान (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रहरी दिवसमा अमर प्रहरीका परिवारलाई सम्मान (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७८, बुधबार

    दमाैली : ६६ आंै प्रहरी दिवसका अवसरमा तनहुँमा अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका अमर प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रहरी उपरिक्षक दिनेशराज मैनालीले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे । सम्मान कार्यक्रममा सहभागी अमर प्रहरीका परिवार भावुक बनेका थिए । सोक्रममा १८ जना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।

    सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई प्रहरी उपरिक्षक मैनालीले नगद पुरस्कारले पुरस्कृत गरे। प्रहरी दिवसकै अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको छ ।

    ए लेभलतर्फ प्रथम हुन सफल प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना र प्रहरी जवान धनबहादुर गुरुङ, द्वितीय हुन सफल विक्रम रेउले र लालबहादुर थापालाई सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पुरस्कार प्रदान गरे।

    बि लेभलतर्फ प्रथम हुन सफल भिमनाथ गौतम र टुकबहादुर चौधरी तथा द्वितीय हुन सफल रामशरण राना र चन्दसिं बस्नेतलाई कालीभञ्जन गण (इ) का प्रमुख सेनानी मनोज गुरुङले पुरस्कार प्रदान गरे ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणमा प्रहरीको भूमिका उच्च रहँदै आएको बताए । उनले समुदाय र प्रहरीको सहकार्यले मात्रै विकृति, विसङ्गति अन्त्य गर्न सकिने बताए ।

    नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले प्रहरीप्रतिको विश्वास बढाउनेतर्फ ध्यान दिन आग्रह गर्दै नागरिकमैत्री प्रहरी अहिलेको आवश्यकता रहेको बताए। सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाभक्त अधिकारीले प्रहरीका हरेक काममा समुदायको सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।

    प्रहरी उपरिक्षक मैनालीले समुदायको सहयोगबाट मात्र प्रहरी सफल हुने भन्दै समुदायसँग सहकार्य गरेर काम गर्ने बताए।