आन्तरिक पुँजी सही ढङ्गबाट व्यवस्थित गर्न आवश्यक छ : अर्थमन्त्री बराल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आन्तरिक पुँजी सही ढङ्गबाट व्यवस्थित गर्न आवश्यक छ : अर्थमन्त्री बराल

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७८, बिहीबार

    बन्दिपुर : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आन्तरिक पुँजीको सही ढङ्गबाट व्यवस्थापन गर्न आवश्यक रहेको बताएका छन् । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको बिहीबार आयोजित सातौ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री बरालले आन्तरिक पुँजी व्यवस्थापन गर्न सकिए मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताए ।

    बाह्य पुँजीमा मात्र भर परेर मुलुक समृद्ध बन्न नसक्ने चर्चा गर्दै अर्थमन्त्री बरालले भने, “हामी आन्तरिक पँुजीलाई व्यवस्थित गर्न नसकेर बाह्य पुँजीमा मात्रै भर परिरहेका छौ । बाह्य पुँजीमा भर परेर हामी आफूलाई कमजोर ठान्छौ, त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्दछ ।”

    अर्थमन्त्री बरालले ठूला सपना देख्नुपर्ने बताउँदै महत्वाकाङ्क्षी योजना बनाए मात्रै सफलता हासिल गर्न सकिने बताए । “ठूला योजना सञ्चालन गर्नु अगाडी सपना देख्नुपर्छ, तबमात्र त्यसलाई पूरा गर्ने आँट आउँछ, बन्दिपुर केबलकार परियोजना पनि त्यस्तै योजना हो,” उनले भने “बन्दिपुर केबलकार परियोजनासँग म सुरुवात देखिनै परिचित छु, यसलाई सबै मिलेर सफल बनाउनुपर्छ ।” प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्री बरालले निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बन्दिपुर केबलकार परियोजनाले जिल्लाको समृद्धिमा टेवा पु¥याउने बताए । बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पर्यटकीय नगरी बन्दिपुरको पर्यटनमा यो परियोजनाले इट्टा थप्ने काम गरेको बताए । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले पर्यटनबाटै समृद्धि हासिल गर्न सकिने बताए ।

    साधारणसभामा लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार परियोजनाका हालसम्मका प्रगति विवरण प्रस्तुत गरेका थिए । कोरोना कहरका कारण निर्माण कार्यमा ढिलाई भएकाले छिट्टै सञ्चालन गर्ने गरी परियोजना अगाडी बढाइएको शर्माले बताए ।

    साधारणसभाले परियोजनाको लागत स्तरोन्नति, केबलकारको स्तरोन्नति, होटलको स्तरोन्नति र काली माँ छिम्केश्वरी केबलकार दर्शन सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ । लिमिटेडले रु दुई अर्ब दश करोडको लगानीमा केबलकार, चार तारे होटल लगायतका पूर्वाधार निर्माण गरिरहेको छ ।