काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठक सकिएको छ । सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने मुख्य एजेन्डासहित बसेको बैठकले मन्त्रीको नाम टुंग्याउन सकेन ।
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भोलि (शुक्रबार) बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डा मिलाउँदा जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एसले असन्तुष्टि जनाउँदै आएको छ ।
हालसम्मको सहमतिअनुसार नेकपा एसले सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र एक जना राज्य मन्त्री पाउने भएको छ ।
बिहीबार स्थायी कमिटी बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तागठबन्धन दलको बैठकमा नेकपा एसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको छ ।