दमौली : तनहुँको व्यास नगरपालिका–४ निवासी कृष्णकुमार श्रेष्ठ (किसान)को पुख्र्यौली थलो म्याग्देको दभुङ हो । श्रेष्ठ व्यवसायसँगै राजनीतिमा उदाएका हुन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रेष्ठ तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । श्रेष्ठले तत्कालिन नेकपा एमालेबाट चुनाव जितेका थिए ।
२०७४ सालको निर्वाचनमा श्रेष्ठले गत नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ६८१४ मत अन्तरले पराजित गरेका थिए । बाम गठबन्धनका उम्मेदवार श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत प्राप्त गरेका थिए ।
यसअगाडी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेका श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिएपछि माधव नेपालसँग नजिक हुन पुगेका हुन् ।
तिनै श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त भएका छन् । खबरपुञ्जसँग कुरा गर्दै उनले देश र जनताका पक्षमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए ।