दमाैली : जिल्ला प्रशासन कार्यालय तनहुँले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले दशैं, तिहार, छठ पर्व सुरक्षित रहेर मनाउन प्रशासनले आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले शुक्रबार सूचना जारी गरी सम्भावित सङ्क्रमणको जोखिमबाट बच्दै चाडपर्व मनाउन आग्रह गरेका हुन् । चाडपर्व मनाउँदा सकभर जो जहाँ छौ, सोही ठाउँमा रही अनावश्यक जमघट र यात्रा नगरी आफ्नै परिवारका सदस्यहरुबीच मनाउन आग्रह गरिएको छ ।
प्रशासन कार्यालयले चाडपर्वमा जुवातास खेल्ने लगायतका कानूनले निषेधित गरेका कार्य नगर्न, सवारी साधनमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी यात्रु नराख्न, खेलकुद र सांस्कृतिक कार्यक्रम सकभर नगर्न, देउसीभैलो नखेल्न, खेल्नै पर्ने भएमा न्यूनतम स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ ।
यसैगरी पूजापाठलाई घरघरमै सीमित गर्न, मन्दिर र तीर्थस्थलमा पूजापाठका लागि जानैपर्ने भएमा न्यूनतम स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ ।