सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौ : शहरी विकास मन्त्री झाक्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौ : शहरी विकास मन्त्री झाक्री

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७८, शनिबार

    दमौली : शहरी विकासमन्त्री रामकुमारी झाक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादी तनहुँले दशैंको अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाक्रीले सरकार सबै नागरिकको भएको बताइन् ।

    मन्त्री झाक्रीले पार्टीले आफूहरुलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोही विरुद्ध लड्ने मन्त्री झाक्रीले उद्घोष गरिन् । मन्त्री झाक्रीले समय धेरै नभएकाले जनअपेक्षा अनुसार काम गर्ने बताउँदै भनिन्, “हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौ ।”

    मन्त्री झाक्रीले न्यायोचित विकासको पक्षमा रहेर काम गर्ने बताउँदै भनिन्, “गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, न्यायोचित विकासको पक्षमा म छु ।” मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य शहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन् ।