


दमाैली : दशैंका लागि तनहुँबाट करिब तीन करोडको खसीबोका विक्री भएको छ । जिल्लाका विभिन्न सहकारीमार्फत् दुई हप्ताको अवधिमा रु दुई करोड ८२ लाख ३६ हजार सात सय ९१ को खसीबोका विक्री भएका हुन् ।
हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ अन्तर्गत दश वटा सहकारीले उक्त मूल्य बराबरको खसीबोका विक्री गरेका हुन् । तनहुँका आठ र लमजुङका दुई गरी दश सहकारीमा आबद्ध कृषकहरुले सहकारीको बजारीकरण कार्यक्रमबाट खसीबोका विक्री गरेका छन् ।
दुई हप्ताको अवधिमा एक हजार आठ सय १७ खसी विक्री भएका छन् । ती सहकारीले रु दुई करोड ७९ लाख ८९ हजार दुई सय ४५ मा कृषकसँग खरिद गरी रु दुई करोड ८२ लाख ३६ हजार सात सय ९१ मा खसीबोका विक्री गरेका छन् ।
घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु २० लाख ६५ हजार चार सय ५९ को खसी विक्री गरेको अध्यक्ष शारदा आलेले जानकारी दिइन् । सहकारीमार्फत् एक सय ५२ खसी विक्री भएका छन् ।
घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी मार्फत् रु ४३ लाख ९५ हजार तीन सयको खसी विक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेले तीन सय ९ वटा खसी विक्री भएको जानकारी दिइन् ।
घिरिङ गाउँपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् रु ५० लाख ३९ हजार छ सय २४ को खसी विक्री भएको अध्यक्ष सङ्गिता रानाले बताइन् । उक्त सहकारीमार्फत् तीन सय ७२ खसी विक्री भएको छ ।
भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु आठ लाख ७९ हजार तीन सय ९० को खसी विक्री भएको छ । उक्त सहकारीमार्फत् ५६ खसी विक्री भएको अध्यक्ष सीताकुमारी तिमिल्सिनाले बताइन् । भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु ६३ लाख एक हजार छ सय ४९ को खसी विक्री भएको अध्यक्ष देवी मुक्तान आलेले बताइन्। सहकारीमार्फत् तीन सय २५ खसी विक्री भएको छ ।
शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत् रु पाँच लाख चार हजार चार सय ९५ को खसी विक्री भएको छ । उक्त सहकारीमार्फत् ३६ खसी विक्री भएको अध्यक्ष नेत्रकुमारी वंशीले बताइन् ।
व्यास नगरपालिका–८ स्थित शुभदिप सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २२ लाख ९४ हजार एक सय ४६ को खसी विक्री भएको छ । सहकारीका व्यवस्थापक सङ्गिता पौडेलले सहकारीमार्फत् एक सय ४५ खसी विक्री भएको जानकारी दिइन्। व्यास नगरपालिका–१२ स्थित आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत् रु सात लाख ५८ हजार दुई सय दशको खसी विक्री भएको छ । सहकारी व्यवस्थापक नविन सुर्खालीका अनुसार सहकारीबाट ५० वटा खसी विक्री भएको छ ।
सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ३७ लाख ४२ हजार दुई सय ९० को खसी विक्री भएको छ । सहकारीका व्यवस्थापक सरिता थापाका अनुसार सहकारीबाट दुई सय ४० खसी विक्री भएको छ । सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २२ लाख ५५ हजार पाँच सय ९८को खसी विक्री भएको छ । उक्त सहकारीबाट एक सय ३२ खसी विक्री भएको अध्यक्ष निर्मला कोइरालाले जानकारी दिइन् ।
सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी विक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।
हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यश्रृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खसी विक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पु¥याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए । “दशैंतिहार लगायत अन्य बेला पनि गाउँबाटै खसी विक्री गर्ने व्यवस्था मिलाइएको छ,” पौडेलले भने, “यसले गर्दा कृषकलाई बजारको खोजी गर्दै हिँड्नुपर्ने बाध्यता हटेको छ ।”
बजारको समस्या नभएपछि गाउँमा बाख्रापालन गर्ने कृषकको सङ्ख्या बढेको र बाख्रापालनबाटै कृषक आत्मनिर्भर बन्न सफल भएको भिमाद नगरपालिका–९ का बाख्रापालक कृषक शिवकुमार आलेले जानकारी दिइन् ।
बाख्रापालक कृषकहरुले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यहरुलाई विक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषक तत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।
हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजार भन्दा बढि कृषक आबद्ध छन् । परियोजना मार्फत् बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ ।