दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पवित्र तीर्थस्थल छाब्दीको विकासका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही विकास कोषले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले छाब्दीको आर्शीवादका कारण आइतबार आफू यो स्थानमा आइपुगेको भन्दै यस क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
मन्त्री श्रेष्ठले छाब्दीलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियानमा रहेको चर्चा गर्दै भने, “छाब्दीलाई जिल्लाको र गण्डकी प्रदेशको मात्र नभई देशकै प्रमुख धार्मिक गन्तव्य बनाउने अभियानमा म विगतदेखि नै लागेको छु, भविष्यमा पनि दत्तचित्त भएर लाग्नेछु ।”
मन्त्री श्रेष्ठले आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुँदादेखि नै छाब्दीको भाकल गरेको स्मरण गर्दै मन्त्री हुँदासम्म पनि छाब्दीको आर्शीवाद रहेको उल्लेख गरे । “प्रतिनिधिसभाको टिकट पाउन पनि भाकल गरे, टिकट पाएपछि जितका लागि पनि भाकल गरे, त्यसैको कारण सांसदमा निर्वाचित भएको थिएँ,” उनले भने, “मन्त्री हुनका लागि भाकल गरेको थिएँ, त्यो पूरा भएको छ ।” मन्त्री श्रेष्ठले छाब्दीको विकासका लागि रु ५० लाखदेखि रु एक करोडसम्मको बजेट विनियोजन गराउने आश्वासन दिए ।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले बेरोजगार युवाहरुलाई रोजगारी दिनका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए । हालसम्म कुनैपनि श्रममन्त्रीले गर्न नसकेको काम आफूले गर्ने भन्दै उनले अगाडी थप्नुभयो, “तनहुँ जिल्लाको शिर उचो राख्ने गरी काम गर्नेछु ।”
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारका शिलशिलामा नेपाली जनताले दुःख पाउने गरेकाले त्यस्तो समस्या समाधानका लागि आफू क्रियाशील रहने बताए । औद्योगिक क्षेत्रमा श्रमिकमाथि हुने शोषणको अन्त्य गर्ने बताउँदै औद्योगिक निकायसँग छलफल गरेर दीर्घकालिन समाधानको निम्ति काम गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले छाब्दीको विकासका लागि गुरुयोजना बनाइएकाले सहयोगका लागि मन्त्री श्रेष्ठसमक्ष आग्रह गरे । लामो समयदेखि सडक कालोपत्रे नभएको अवस्थामा सांसदमा निर्वाचित भएपछि श्रेष्ठकै पहलमा कालोपत्रे भएको बताउँदै थापाले छाब्दीको विकासमा ध्यान दिन उनले आग्रह गरे ।
सो अवसरमा मन्त्री श्रेष्ठले छाब्दीवाराही मन्दिरको दर्शन समेत गरेका थिए ।