दमाैली : तनहुँको व्यास नगरपालिकाको महत्वाकाङ्क्षी परियोजनाको रुपमा रहेको व्यास एकीकृत मादी नदी उपत्यका परियोजना अगाडी बढ्ने भएको छ । मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अगाडी बढाउने तयारी थालिएको हो ।
नगरपालिकाले परियोजनाको गुरुयोजनाको अन्तिम मस्यौदा सार्वजनिक गरेको छ । आइतबार आयोजना गरिएको कार्यक्रमबाट मस्यौदा माथि सुझाव सङ्कलन गरिएको छ । गुरुयोजना अनुसार १५ वर्षे उक्त एकीकृत योजना अन्तर्गत २६ वटा परियोजना समेटने तयारी गरिएको छ । जसको लागत रु २६ अर्ब रहने बताइएको छ ।
गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुत गर्दै इन्जिनियर कुमार धमलाले व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्र्पोट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहोरमैला व्यवस्थापन योजना लगायतका २६ वटा योजना समेटिने जानकारी दिए । प्रत्येक योजनाको छुट्टाछुट्टै बजेट र सम्पन्न हुने समय प्रस्तुत गर्दै उहाँले १५ वर्षसम्म हरेक योजनालाई महत्वको हिसाबले प्र्राथमिकता निर्धारण गरिने र सोही अनुसार निर्माण कार्य पनि अगाडि बढाइने जानकारी दिए ।
जलस्रोतविद अर्जुन गौतम, वातावरणविद् राजिव पोख्रेल, वरिष्ठ सहरी योजनाविद् उनाममान प्रधान, पूर्वाधार र एवं विपद्विद देवकुमार महर्जनले प्रस्तुत भएको मस्यौदा माथि सुझाव राखेका थिए । योजनाको दीगोपन, हाइड्रोलजिकल पक्ष अन्तर्गत पानीको स्रोत र बहाव तथा सो क्षेत्रमा हुने वर्षाको प्रकृतिलाई विशेष ध्यान दिन विज्ञहरुले सुझाव दिनुभएको थियो । त्यस्तै पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव, बाढी पहिरोको प्रकोप, स्थानीय जीवनस्तरमा पर्ने प्रभावको गहिरो अध्ययन र विश्लेषण गरेर मात्र अघि बढ्न विज्ञहरुले सुझाव व्यक्त गरे ।।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले परियोजना सञ्चालनको आधार बलियो हुनुपर्नेमा जोड दिए । प्राविधिक विषयको गहिरो अध्ययन गरेर मात्र अघि बढ्न उनले सुझाव दिए ।
प्रतिनिधि सभा सदस्य कलिला खानले सबै क्षेत्रसँग समन्वय र सहकार्य गरे परियोजना सफल हुने विश्वास व्यक्त गरे । यो परियोजना तनहुँको समृद्धिको आधारशीला भएकाले यसलाई सफल बनाउने जिम्मेवारी सबैको हुने उनले बताए ।
राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले परियोजना बहुआयामिक र एकीकृत योजना भएकाले विशेष महत्व राख्ने बताउँदै परियोजना सम्पन्न हुने अवधि लामो भएकाले समयसँगै परिवर्तन हुने पक्षहरुको बारेमा समेत चनाखो भई लागत इष्टिमेट गर्न उनले बताए ।
मस्यौदा माथि जनप्रतिनिधि, राजनीतिज्ञ, व्यवसायी र अन्य सरोकारवालाहरुले मादी नदीसँगैका जमिन अधिग्रहण, मादीको वहाब नियन्त्रण, सामाजिक तथा आर्थिक पक्ष, वातावरणीय पक्ष, नीजि जग्गा मुआब्जा, पर्यटन विकासका पूर्वाधार, पर्यटनका सम्भावना र चुनौती, लगानीको मोडल, जग्गा व्यवस्थापन, सहरी विकास योजना, जलविद्युत उत्पादन क्षमता, नीजि क्षेत्रसँग समन्वय र सहकार्य, लगानी सुरक्षित हुने आधार, स्थानीय बासिन्दाले लिनसक्ने फाइदा, फोहोरमैला व्यवस्थापन, सम्भावित लगानीकर्ताको सुचि निर्माण, व्यास पराशर, मानहुँकोटलाई कसरी जोडने, नेतृत्वकर्ताको स्पष्ट भिजन र प्रतिवद्धता हुनुपर्ने लगायतका सुझाव राखेका थिए ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यासको वृहत्तर र एकीकृत विकास कसरी गर्ने भन्ने सम्बन्धमा विज्ञहरुसँग पटक पटक छलफल गर्दा व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाको अवधारण आएको जानकारी दिए । स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै त्यसमा केही कृत्रिमता प्रदान गरी त्यसबाट पर्यटन र व्यापार व्यवसायको राम्रो लाभ लिन सक्ने भएपछि परियोजना अगाडि बढाउने तयारी गरिएको न्यौपानेले बताए । यस परियोजनाका लागि विदेशी लगानीकर्ता पनि उत्साहित देखिएको बताउँदै उनले विज्ञ टोलीहरुसँग छलफल गरेर अगाडी बढ्ने बताए ।