दमाैली : बडादशैंको सातौ दिन मङ्गलबार तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि विधिपूर्वक कालिका मन्दिरमा फूलपाती भित्र्याइएको हो ।
बाजागाजा सहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याइएको हो । चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले लिएको डोली कालिका मन्दिरमा भित्र्याइएको हो । त्यसअघि विपी वनवाटिकास्थित बेलको रुखमा पूजाआजा गरिएको हो ।
फूलपाती भित्र्याउने कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, सुरक्षा निकायका प्रमुख, व्यवसायी, सर्वसाधारण लगायतको सहभागिता थियो ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शुक्रबारशास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।