दुलेगाैडा : दशैँ तिहारको विशेषतामा पर्दछ पिङ । पिङले दशैँको मौलिकता र रौनकतालाई थप्छ । एक दशक अगाडीसम्म भञ्जयाङ, चौतारी, गाउँ शहर जताततै दशैँ अगावै लिंगे पिङ, पिर्के पिङ, जाते पिङ, लठ्ठे पिङ हालिन्थ्यो । र चचहुई गर्दै पिङमा मच्चिदै खेल्ने युवा युवतीको भिड देखिन्थ्यो ।
बुढापाकाले दशैँको दिन त एक पटक धर्ती छोड्नलाई पनि पिङ खेल्नुपर्छ भनेर भन्थे । बुढापाकाले भनाईलाई सार्थक बनाउन युवापुस्ताले गाउँ गाउँमा पिङ हाल्ने प्रचलन थियो । एक दशकयता बर्षेनी दशैँमा पिङ हाल्ने प्रचलन घट्दै गएको छ । कारण गाउँघरमा न पिङ हाल्ने युवा छन्, न मच्चिदै खेल्नेहरु ।
वर्षेनी पिर्के पिङ मच्चिने राईपुरस्थित भुस्नापुर फुलपाती डाँडा यसपाली शुनसान बन्यो । केही बर्षदेखी यहाँ पिङ हाल्न छाडिएको छ । गाउँ बसाईसराईले रित्तिदो छ । बुढापाका मात्रै छन् गाउँमा । युवा सबै शहर बजार र विदेशमा छन् । गाउँमा पिङ नहुदाँ दशैँ खल्लो महशुस हुने ७४ बर्षीय चित्रबहादुर हमाल बताउँछन् । उनी भन्छन्, ‘पिङ नभएपछि त दशैँ दशैँ जस्तो नहुदो रैछ । पिङ हुदाँ कति रमाईलो हुन्थ्यो । अहिले खल्लो भईराछ, पिङ नहुदाँ दशैँको महत्व कम भएको छ ।’
उनका अनुसार राईपुरका सबैजसो गाउँमा पिर्के पिङ हालिन्थ्यो । पिर्के पिङ नहालेको गाउँमा लिंगे र जाते पिङ हुन्थे । हरेक जसो घरको आँगनमा बाँवियोको लठ्ठाले हालिएको पिङमा केटाकेटी झुम्मिएर दशैँदेखी तिहारसम्म खेलिरहन्थे । त्यो दृश्य अहिले एकादेशको कथा जस्तै बनेको छ । शुक्लागण्डकी–११ राईपुरको थामडाँडामा मात्रै पिर्के पिङ हालिएको छ । अहिले गाउँमा युवा नहुदाँ पिङ हाल्न कठिन भएको हमालको भनाई छ ।
गाउँमा युवा नभएपछि शुक्लागण्डकी–१० कोलम्फेको जनचेतना युवा क्लबले ज्यालामा कामदार खटाएर पिङ हालेको छ । २५ हजार रुपैयाँ खर्चेर पिङ हालेको क्लबका सचिव अभिषेक थापाले बताए । ‘पछिल्लो समय पिङ हाल्ने सँस्कृति हराउदैँ गईरहेको छ । हामीले जगेर्ना गर्न आर्थिक संकलन गरेर ज्यालामा कामदार खटाएर पिङ हाल्यौँ’, उनले भने । जंगलबाट काठ काटेर ल्याएर पिङ ठड्याउनलाई धेरै जनशक्ति चाहिन्छ । तर, बसाईसराई, वैदेशिक रोजगारका कारण गाउँ सुनसान बनिरहेको छ ।
बडो कष्टकरपुर्ण तरिकाले जिल्लाका केही स्थानमा यसपालीको दशैँमा सँस्कृति जोगाउनकै निम्ति पिर्के पिङ हालिएको छ । एकाध स्थानमा लिंगे पिङ ठडिएको छ । जाते पिङ भने लोप भईसक्यो । सँस्कृति जोगाउनैका निम्ति हालिएका पिङ हाल्ने मात्रै नभएर खेल्नेको समेत कमी छ । खेल्न आउनेको प्रतिक्षामा बसेका छन् पिर्के र लिंगे पिङ ।
गाउँमा पिङ हालेपनि पहिला जस्तो पिङ खेल्नेहरु नआएको शुक्लागण्डकी–३ कालीम¥याङका विरेन्द्र थापाले बताए । ‘सँस्कृति जोगाउनलाई पिङ हालेका छौँ । छिटफुट मात्र पिङ खेल्न आएका छन् । पहिला जस्तो माहोल छैन् । गाउँ गाउँबाट पिङ खेल्न आउनेको भिड हुदैन आजभोलि’, उनले भने । मेला महोत्सवका पिङले गाउँका पिङमा आकर्षण कम गराईदिएको उनको भनाई छ । आधुनिकतामा रमाउँदा युवापुस्ताले मौलिक सँस्कृतिलाई बिर्सेको थापाको भनाई छ ।
पर्यटकीय नगरी बन्दीपुरमा लिंगे पिङ हालिएको छ । टुडिखेलमा एउटा लिंगे पिङ र अर्को रुखमा लठ्ठा हालेर लठ्ठे पिङ बनाईएको पर्यटन व्यवसायी विपिन प्रधानले जानकारी दिए । प्रधानका अनुसार पिङ खेल्नेको भिड लागेको छ । ‘सँस्कृतीको जर्गेनासँगै पर्यटकीयलाई आकर्षित गर्न पिङ हालेका छौँ । रातीमा पनि उज्यालो बत्ती राखिएको छ । यतिबेला पर्यटक बढेका छन् । त्यसैले पनि विहानदेखी बेलुकासम्म पिङ खेल्नलाई लाइन हुन्छ’, उनले भने । पिङ हाल्ने र खेल्ने सँस्कृति मात्रै होईन् समग्र दशैँको मौलिकता र रौनकता समेत गुम्दैछ ।