


काठमाडाै : नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म स्कोर गोलरहित बराबरीमा रहेको छ ।
आजको खेलमा वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् । पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाए । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गरिरहेका छन् ।
नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । तर यसपटक प्रतियोगितामा भारतले निकै खराब सुरुवात गरेको थियो । पहिलो खेलमा १० खेलाडीमा सीमित बंगलादेशसँग १–१ को बराबरी खेलेको भारत दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकियो । प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतले त्यसपछि भने नेपाल र माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो । सन् २००३ बाहेक भारत सधैँ प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतका लागि कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका छन् ।