दमाैली : व्यास नगरपालिकाले भाडामा लगाएका सटरबाट उठ्नुपर्ने रु २५ लाख भन्दा बढी रकम उठ्न बाँकी छ । नगरपालिकाले विभिन्न ठाउँका सटर भाडामा लगाएकामा रु २५ लाख ३० हजार सात सय ८४ उठ्न बाँकी रहेको हो ।
नगरपालिकाले ५८ वटा सटर रु दुई करोड चार लाख ५६ हजार दुई सयमा भाडा दिएकामा कोरोना कहरका कारण गरिएको लकडाउनमा राहत स्वरुप दुई महिनाको भाडा छुट दिएको छ । भाडा छुट पछि नगरपालिकाले रु एक करोड ७३ लाख ३१ हजार आठ सय ५० सङ्कलन गर्नुपर्नेमा रु एक करोड ४८ लाख एक हजार ६५ मात्रै सङ्कलन भएको छ ।
नगरपालिकालाई शङ्करनारायण श्रेष्ठले विसं २०७५ माघ २ देखि २०७७ असार ३१ सम्म रु चार लाख ३३ हजार पाँच सय, सुधिरकुमार झाले रु ९१ हजार, विलबहादुर दमैले रु ५२ हजार दुई सय दुई, गोपीकृष्ण नहर्कीले रु ५२ हजार दुई सय, गोविन्द चहर्कीले रु ५२ हजार दुई सय दुई, कल्पना पण्डितले रु ४० हजार सात सय दश, शिव बस्नेतले रु ४४ हजार दुई सय, गोपीकृष्ण नहर्कीले रु ३० हजार र तलिमाया सिञ्जालीले रु १२ हजार बुझाउन बाँकी छ ।
सम्झौतामा पाँच प्रतिशत जरीवाना र विलम्ब शुल्क समेत गरी असुल उपर गर्ने उल्लेख भए अनुसार उठ्न बाँकी सटरहरुको भाडा रकममा पाँच प्रतिशत जरीवाना र विलम्ब शुल्क समेत थप गरी सरकारी बाँकी सरह असुल उपर गर्न सकिनेछ ।